अलैंचीभन्दा महँगो भयो चिराइतो, प्रतिमन १० हजार रूपैयाँ बढ्यो

ताप्लेजुङ । चिराइतोको भाउ गत वर्षको तुलनामा प्रतिमन (४० किलो) १० हजार रूपैयाँ बढेको छ । गएको वर्ष प्रतिमन ३० हजार रूपैयाँका दरले कारोबार भएको चिराइतोको हाल ४० हजार रूपैयाँ पुगेको हो ।

योसँगै पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अलैंचीभन्दा चिराइतोको मूल्य माथि पुगेको छ । अलैंची प्रतिमन ३५ हजार रूपैयाँका दरले कारोबार भइरहेको छ ।

भारत निर्यात हुँदै चिराइतो झापामा पुर्‍याउँदा प्रतिमन ३८ हजारदेखि ४० हजार रूपैयाँमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् ।

‘गत वर्ष ३० हजार रूपैयाँ प्रतिमन कारोबार भएको थियो । आजभोलि भाउ बढेर ३८ हजारदेखि ४० हजार रूपैयाँमा कारोबार भइरहेको छ,’ सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भने ।

गत वर्ष १८ हजार रूपैयाँ हुँदै ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर ४० हजारसम्म पुगेको हो ।

बरालकाअनुसार हाल किसानबाट प्रतिमन ३२ हजारदेखि ३३ हजार रूपैयाँसम्ममा लिने गरिएको छ । चिराइतो संकलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेको बरालले बताए ।

व्यवसायीका अनुसार चिराइतो सुकेको वा नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ । झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन् ।

‘कहिलेकाहीँ भारतका व्यापारी भेटिन्छन्। उनीहरूले बिर्तामोडका व्यापारीले दिने भन्दा एक हजार रूपैयाँ बढी दिन्छन्,’ व्यवसायी बरालले भने।

केही वर्ष अघिसम्म ओलाङ्चुङ्गोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ।

मूल्य वृद्धि भएसँगै चिराइतो संकलन र व्यावसायिक खेती गर्ने कृषक हर्षित बनेका छन्। लामो समयपछि चिराइतोको मूल्य एक्कासि बढेर अलैंचीभन्दा धेरै पुगेपछि यहाँका किसान हर्षित बनेका हुन्।

यो वर्ष प्रतिमन ३२/३३ हजार रूपैयाँका दरले घरैबाट चिराइतो बेच्न पाउँदा खुसी भएको फक्ताङलुङ गाउँपालिकाको खेजेनिमका किसान अमरसिंह माबोहाङले बताए। व्यावासायिक खेती गर्दै आएका अमरसिंहले यो वर्ष आठ मनभन्दा बढी उत्पादन गरेका छन्। उतारचढाव आइरहने चिराइतोको मूल्य पछिल्लो समय सुधारिएकाले किसानलाई राहत मिलेको उनले बताए।

लेलेपका बुद्धिमान राईले पनि चिराइतोको भाउ बढेर किसानलाई उत्साहित बनाएको बताए। हालको मूल्य कायम रहिराखे उच्च लगानीका साथ खेती गर्ने र किसानको लगानी खेर नजाने उनको भनाइ छ।

आम्दानीका लागि पहाडी क्षेत्रका किसानले अलैंचीपछि चिराइतो खेती धेरै गर्दै आएका छन्। मूल्य नपाउँदा केहीले भने यसलाई निरन्तरता दिन सकेनन्।

चिराइतोको मूल्य बढे पनि उत्पादन भने घटेको पाइएको छ। गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो संकलन भएको व्यवसायीले बताएका छन्। गत वर्ष एक सय ५० मन चिराइतो संकलन गरेका व्यवसायी गोविन्द बरालले यो वर्ष मुस्किलले ७० मन पुर्‍याएको बताए।

‘गत वर्षको तुलनामा संकलन कम छ। यसरी कम हुनुको कारण उत्पादन घटेर हो। संकलन र खेती गर्ने क्रम केही घट्दै गएको छ,’ उनले भने।

सिरिजङ्घा–७ खेवाङका व्यवसायी नरेन्द्र तिवारीले गत वर्षको तुलनामा आधा जसो मात्र चिराइतो संकलन भएको बताए। उनका अनुसार प्रायःले चिराइतो खेती छाडेका छन्। तर मूल्य बढेसँगै पुनः व्यावसायिक खेती गर्न किसान उत्सुक देखिएको उनले बताए।

ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो संकलन गर्न सकिने डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ। उक्त कार्यालयका अनुसार संकलक तथा व्यवसायीले भने आधा जसोको मात्र पुर्जी लिने गरेको तथ्यांकले देखाएको छ।

उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि मुख्य हो। समुद्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ। असोजमा पूर्ण रूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उखेलिन्छ।

भूगोल हेरी मंसिरदेखि चैतसम्म चिराइतो संकलन हुन्छ। प्रायले जंगलमा गएर संकलन गर्छन् भने केहीले यसको व्यावसायिक खेती गर्दै आएका छन्। खेती गर्नेले जंगल फाँडेर आगो लगाई चिस्यान भएको समय पारेर बीउ छर्छन्। बीउ छरेको तीन वर्षमा उखेल्न उपयुक्त हुने गरी चिराइतो फस्टाउने किसान बताउँछन्।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्