घाँटीमा सुनको दाम्लो र औँलैपिच्छे औंठी लाउनेलाई पार्टीमा बहिष्कार गरौ – लेखनाथ न्यौपाने

माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले घाँटीमा सुनको दाम्लो र औँलैपिच्छे औंठी लगाउनेलाई पार्टीमा बहिष्कार गर्नुपर्ने बताएका छन् ।

न्याैपानेले सामाजिक सञ्जालमा पार्टीभित्र गनाएका, जनताले गम्भीर प्रश्न उठाएका र समाजले अ‍ौंला उठाएकालाई आन्तरिक प्रशिक्षण र सार्वजनिक सभामा ठालु बनाएर उभ्याउने काम नगर्न सुझाव समेत दिएका छन् ।

त्यस्ता पात्रहरुले आन्दोलनलाई बदनाम बनाउनुका साथै पार्टीलाई अलोकप्रिय र चुनावमा जनमत घटाउने काम गरिरहेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘कम्युनिष्ट पार्टीको नेता बनेर घाँटीमा सुनको साङ्लो लगाउने, अ‍ौंलैपिच्छे अ‍ौंठी लगाएर त्यही हातले माइक समात्ने र सुन प्रदर्शन गर्ने अनि श्रमिकहरुको मुक्तिको गफ दिनेहरुका कारण लोक हाँसेको छ, कार्यकर्ता निराश भएका छन् र जनमत बिग्रेको छ ।’

यस्ता पात्रहरुलाई मञ्चमा नराख्न र अतिथि–वक्ता बनाउन नहुने उनको तर्क छ । उनले लेखेका छन्, ‘आन्दोलनले दिएको अख्तियारी (सार्वजनिक जिम्मेवारी) को दुरुपयोग गरेर सम्पत्ति थोपर्ने, अवसरहरु आफू र आफ्नालाई मात्र आवश्यक ठान्नेहरुलाई प्रशिक्षक बनाउने काम कुनै कमिटीले नगरौं । तपाईहरुले त्यस्ता पात्रलाई बोक्नुभयो भने तपाईलाई मतदाता–जनतासँग दैनिक सहकार्य गर्न निकै गाह्रो हुन्छ ।’ लाेकपाटी डटकम

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्