जनता समाजवादी पार्टी नेपाल रामेछाप जिल्ला अध्यक्ष सोनाम तामाङ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
स्थानीयत तहको निर्वाचनको मुखमा उनी जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्वागत गरेका छन् ।
तामाङले जसपाभित्र पनि जातिवाद, परिवारवाद, अवसरवाद, चाकरीवाद हावी भएको भन्दै परित्याग गरेको घाेषणा गरे ।
‘पार्टीभित्र जिल्लादेखि प्रदेश र प्रदेशदेखि केन्द्रसम्म नेताहरुको गुटबन्दी, टकराव, लडाइँ र चम्चागिरी देखा पर्यो,’ फेसबुकबाट उनले भने, ‘देशमा केही परिवर्तन भयो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तर पार्टी मूल एजेन्डा पहिचानसहितको संघीयता र पूर्ण समानुपातिक समावेशीसहितको समृद्ध समाजवादको दिशामा देशलाई अगाडि बढाउनुपर्ने बेलामा पार्टीभित्र आएको विचलन, विचार र व्यवहारमा देखिएको भिन्नता, नातावाद, जातिवाद, व्यक्तिवाद, परिवारवाद, अवसरवाद र चाकरीवाद हावी भयो ।’
२०६९ सालमा अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी निर्माणदेखि नै पहिचानको आन्दोलनमा लागेका तामाङ हाल जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।