संगठन मजबुत भएको छ, हामी सहजै जित्छौंः रविप्रकाश राई

जन्मभूमिको निम्ति केही गर्न स्थानीय सरकारकै नेतृत्व लिनुपर्छ भनेर उम्मेदवार बनेँ

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङको साकेला गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार रहेका कांग्रेस नेता रविप्रकाश राईले आफ्नाे जित सुनिश्चित भएको बताएका छन् ।

साल्पा अनलाइनसँगको कुराकानीमा उनले २०७४ सालको निर्वाचनको बेला भन्दा अहिले सांगठनिक हिसाबमा कांग्रेस मजबुत रहेको बताए ।

पूर्व बेलायती गाेर्खा सैनिक समेत रहेका नेता राईले भने, ‘अहिले हामी सांगठनिक हिसाबले मजबुत छौं, २०७४ सालमा हामी ३५ मतले मात्रै पछि परेका थियौं ।’

प्रस्तुत छ २०४६ सालदेखि नै राजनीतिमा प्रवेश गरेका राईसँग गरिएकाे छोटो कुराकानीकाे सम्पादित अंशः

तपाईं किन गाउँपालिका अध्यक्षको उम्मेदवार हुनुभयो ? तपाईंको एजेन्डा के हो ?

म गाउँपालिका अध्यक्षको उम्मेवार बन्नुपर्ने कारण चाहिँ म साकेला गाउँपालिकाकै वडा नं १ बाँझे च्यानडाँडामा जन्मेको हुँ ।

त्यसो भएको हुनाले मैले म जन्मेको माटो, भूगोलकै निम्ति केही गर्नुपर्छ र त्यो गर्नको निम्ति भोलि माननीय सांसद भएर पनि आफूले गरेको परिकल्पनाका कुराहरुलाई सार्थकता तुल्याउन सकिँदैन ।

आफूले सजाएको सपनाहरुलाई पूरा गर्नका निम्ति कि मुख्यमन्त्री बन्नुपर्यो, कि प्रधानमन्त्री बन्नपर्यो कि त स्थानीय सरकारकै नेतृत्व गर्नुपर्यो ।

तर, अहिलेको अवस्थामा ती कुरा अलिकति टाढा भएको हुनाले अब स्थानीय सरकारमार्फत आफ्नै पालिकाको भूगोलभित्रको भूगोललाई संमृद्धिको सँघारतिर उभ्याउन स्थानीय निर्वाचन एउटा स्वर्णिम अवसर रहेको हुनाले म यतैतिर आकर्षित भएँ ।

तपाईंले स्थानीय सरकारबाटै आफ्नाे भिजनहरु विकास र संमृद्धि प्राप्त गर्ने र त्यसलाई एउटा आधार बनाउने कुरा गर्नुभो । साकेला गाउँपालिकामा चाहिँ के के त्यस्तो विषय देख्नुहुन्छ जुन तपाईंले एजेन्डाको रुपमा अगाडि ल्याउनुहुन्छ ?

खोटाङ जिल्लाको दशवटा पालिकाहरुमा साकेला गाउँपालिका स्रोत र साधनले उत्कृष्ट पालिका हो । यो सानो पालिका छ तर यहाँको भूमिमा हरेक चिज उत्पादन गर्न सकिन्छ ।

कृषिको क्षेत्रमा हेर्ने हो भने यहाँ धानै फलाउनलाई पनि गाउँले भाषामा भन्दा ‘दुई माना मुरी’सम्म फल्छ । यहाँ बाइस खालको आलु फल्छ ।

यहाँको डाँडापाखालाई पर्यटनको निम्ति मजाले सजाउने हो भने यहीँ सिक्किम बन्छ । यहीँका डाँडापाखाहरु स्विट्जरल्यान्ड बन्न सक्छ ।

यहाँको स्रोत र साधनलाई सही ढंगबाट सदुपयोग गर्ने हो भने यहाँको एउटै खोलामा पाँच सात ठाउँमा बिजुली निकाल्न सकिन्छ ।

कृषिको कुरा गर्दा यहाँ नफल्ने केही छैन, यसलाई एउटा सिस्टममा लाने हो भने । यहाँको डाँडापाखा आफै प्राकृतिक सुन्दरताले भरिएको छ, त्यसलाई अझै यहाँको सरकारबाट अलिकति कसी लाउने हो भने यहाँका नागरिक कही जानुपर्दैन ।

रविप्रकाश राई

यति सम्भावना भएको, यति उर्बर भूमि हुँदाहुँदै पनि साकेला गाउँपालिकाको प्रत्येक घरको युवा रोजगारीका लागि विदेश जान्छन्, गएका छन् । खासगरी युवाहरुलाई नेपालमै बस्ने गरी रोजगारी सिर्जना गर्ने र आफ्नाे जीविका सहज रुपमा चलाउन सक्ने खालको आधार स्थानीय सरकारले बनाउन सक्दैन ?

सक्छ ।

कसरी सक्छ ?

अहिले स्थानीय सरकारको पाँच वर्षे आयु सकियो । अब चुनावको मैदानमा उत्रिनेहरु राजीनामा दिएर लड्न आइसकेका छन् ।

म भनिराखेको छु कि स्थानीय सरकारको पाँच वर्षे अवधि सकिदै गर्दा उहाँहरुलाई तपाईंले पाँच वर्षे कार्यकाल छोडेर जाँदै गर्दा दश वर्षपछि साकेला गाउँपालिका कस्तो बन्छ भन्ने प्रश्न गर्यो भने उहाँहरुसँग उत्तर छैन ।

त्यो कारणले गर्दा मैले के भनिराखेको छु भने हामीले पाँच वर्षको अवधिमा काम गर्दै गर्दा अल्पकालीन योजनालाई मात्र धेरै प्राथमिकतामा राख्न हुन्न ।

दिगो विकासको कार्ययोजनाहरु तयार गर्नुपर्छ । एउटा सिंगो गुरु योजना बनाएर त्योभित्र मार्गचित्र कोरेर हामीले पच्चिस तिस वर्षपछि साकेला गाउँपाकिला कस्तो बनाउने ? यहाँ रोजगारी कसरी सिजर्ना गर्ने ? यहाँको कृषिलाई कसरी आधुनिकीकरण गर्दै कृषिको गन्तव्यमा पुर्याउने ? स्वास्थ्य, शिक्षा, पर्यटन, जलविधुत्का कुरा, भौतिक निर्माणका कुरा, यिनीहरुको अन्तिम गन्तव्य कहाँ हो भन्ने कुरा आजै हामीले तयार गरेर हरेक वर्षको बजेट त्यतातिर बिनियोजन गर्दै अगाडि बढ्यौ भने यसले निश्चित रुपमा रोजगारीको सिर्जना गर्छ, कृषकहरुलाई ठुलो टेवा पुग्छ र यहाँको भावी पुस्ता सहरमा गएर उच्च शिक्षा लिनुपर्ने परिस्थिति आउँदैन ।

तपाईंको विचारमा युवाहरु पलायन हुनुको कारण के होला ?

युवाहरु पलायन हुनुको कारण राज्य युवाहरुप्रति अथवा राज्य भविश्यप्रति संवेदनशील नहुनु हो । स्थानीय सरकार होस्, प्रदेश सरकार होस् या त संघीय सरकार, यो विषयमा राज्य संवेदनशील हुनुपर्छ ।

युवाहरुलाई कसरी रोजगार बनाउने ? युवाहरुलाई रोजगार बनाउने भन्दैमा हामीले थुप्रै जागिरकै मात्र अवसरहरु प्रदान गरेरमात्रै हुँदैन ।

कृषिमा रुचि राख्नेहरुलाई कृषिमै लगनशील बनाउनुपर्यो, व्यवसायमा रुचि राख्नेहरुलाई व्यवसायमै राज्यको तर्फबाट के सुविधान दिन सकिन्छ दिनुपर्याे । यी विविध कारण छन् युवाहरु आफ्नाे भूगोलदेखि पलायन हुनुको पछाडि ।

२०७४ सालको निर्वाचन हेर्दा कांग्रेसबाट ईच्छुराम राना उठ्नुभाथ्यो । माओवादीबाट झंकार खड्काले जित्नुभो । खोटाङमा समग्रमा एमालेको राम्रो स्थिति छ, त्यसपछि कांग्रेसको । माओवादी नयाँ थियो तर उसले जित्यो । यसपटक तपाईंहरुले कसरी जित्नुहुन्छ ? किनभने त्यतिबेला तपाईंहरुको मत करिब एक हजार थियो । झंकारले एक हजार २० मत ल्याएर जितेको थियो । यो पटक के आधारमा जित्नुहुन्छ ? किनभने एमाले आफैमा बलियो छ, माओवादी एक कार्यकाल अध्यक्ष नै जितेपछि उसले पनि पार्टी संगठन राम्रै बनाएको होला । तपाईंले जित्ने ठोस आधारचाहिँ के देख्नुभएको छ ?

अहिले हामी सांगठनिक हिसाबले मजबुत छौं । २०७४ सालमा हामी ३५ मतले मात्रै पछि परेका थियौ नेकपा माओवादीसँग ।

अहिले मेरै १ नम्बर वडामा त्यो बेलाको र अहिलेको मतदाता पनि बढेको छ । तर मतदाता बढ्दै गर्दा नेपाली कांग्रेसकै मतदाता धेरै बढेको छ ।

२ नम्बरमा पनि हामीले संगठन बजबुत बनाएका छौं । हामीले चार पाँच गुणा बढी मत सहजै ल्याउने परिस्थिति बनाएका छौ ।

५ नम्बरमा पनि संगठनलाई अलिक बढाएका छौं । ४ नम्बरमा हामी त्यही अवस्थामा छौं र ३ नम्बरमा हामीले १५८ मत ल्याएका थियौ । उपनिर्वाचनमा चाहिँ हामी ९ मतले मात्रै हारेका हौ ।

उहाँहरुको चाहिँ त्यसबेला गठबन्धन पनि थियो । हामीहरु एक्लै उठ्दा पनि ३७४ मत ल्यायौं ।

त्यसो भएको हुनाले अहिले मतभारलाई नै हेर्दा हामी सहज ढंगबाटै साकेला गाउँपालिकामा जित हासिल गर्न सक्छौं ।

त्यतिबेला तपाईंहरुले सिंगो एमालेसँग प्रतिस्पर्धा गर्नुभो माओवादी पनि थियो । अहिले एमाले फुटेर एउटा समूह नेकपा एकीकृत समाजवादी बन्यो । त्यसले एमाले कमजोर भयो भनेर पनि तपाईं ढुक्क हुनुभएको हो कि ?

एकदम, एकदम । त्यतिखेर एमाले फुटेको थिएन । नेकपा माओवादी पनि कमजोर अवस्थामै थियो । र अहिले माओवादीको अलिकति मत एमालेले पनि तानेको छ । माओवादीको मतहरु कांग्रेसतिर पनि आएको छ ।

मेरै वडामा पनि हिजोअस्ति मात्रै ८० जनाको एउटा समूह कांग्रेसमा प्रवेश गर्नुभएको छ । यस्तैयस्तै आधारले गर्दा हामी बलियो बनेका छौं ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्