जनता समाजवादी पार्टी नेपाल विभाजनको संघारमा पुगेको छ । पार्टीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर सुरु भएको छ ।

बैठक बोलाएर पछिल्लो अवस्थामा छलफल नभए अध्यक्ष उपेन्द्र यादवविरुद्ध हस्ताक्षर प्रयोग गरिने रणनीतिमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई समूह सक्रिय भएर लागेको छ ।

नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेसँगै जसपामा समेत मन्त्री हेरफेर विषयले विवाद भइरहेको छ । मन्त्री हेरफेरका साथै अन्य विषयले जसपा विभाजन नजिक पुगेको हो । मन्त्री हेरफेर, स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयले जसपाभित्र विवाद सुरु भएको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई निकटका नेताले पार्टीमा निर्वाचनको समीक्षा हुनुपर्ने माग गरिरहेका छन् । तर, अध्यक्ष उपेन्द्र यादवले पार्टीको बैठक नै नबोलाएको भन्दै भट्टराई पक्षका नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।

यादवले टिकट बाँड्दा संस्थागत निर्णय नगरेको, सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीमा परामर्श नगरेको, पार्टी विधानअनुसार अर्को अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्न अनिच्छा देखाएको आरोप भट्टराई पक्षका नेताको छ । राजधानी दैनिक