नेकपा एकीकृत समाजवादीबाट सरकारको मन्त्रीहरु फेरबदल भएपछि जनता समाजवादी पार्टीमा पनि मन्त्री फेरबदलको विषय उठेको छ ।
जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षबीचको विवादले पार्टी नै फुट्न लागेको बेला यादव पक्षधर केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको हो ।
नयाँ मन्त्री छान्ने अधिकार भने अध्यक्ष यादवलाई दिइएको छ ।
यादव पक्षका नेताहरु हिजो बेलुकी काठमाडौंको खुसीबुस्थित नेपा ब्याङ्क्वेटमा बैठक बसेका थिए ।
सो बैठकले मन्त्रीहरु हेरफेर गर्ने र पार्टीविरोधी गतिविधि गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्रोतले जनायो ।
हाल जसपाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रेणुकुमारी यादव, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा महेन्द्र राय यादव, वन तथा वातावरणमन्त्रीमा रामसहाय प्रसाद यादव र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राजेन्द्र श्रेष्ठ छन् ।
हिजोको बैठकमा महेन्द्र राय यादवबाहेक तीनजनै मन्त्रीहरु र अध्यक्ष यादव पक्षका नेताहरु थिए ।
बैठकमा वरिष्ठ नेता अशोक राई भने थिएनन् । बैठकले असारभित्रै केन्द्रीय समितिको बैठक बस्ने निर्णय पनि गरेको छ ।



