Thursday, August 11, 2022
23.3 C
Diktel

संस्मरण : भाेजपुरकाे घाेडेटारस्थित शाही सेनाकाे क्याम्पमा आक्रमण गर्दा

साेनाम सज्जन किराती

मैले रोपेको विरुवाले काँडा बोक्छ
अनि काँडाको सुरक्षामा फुल हाँस्छ
त्यो फुल जीवन र संघर्ष हो ।
-गोल्मेभीरबाट ।

२०६१ काे माघ महिनामा पुरानो सत्ताकाे शाही नेपाली सेनाकाे अखडा भाेजपुर घाेडेटारमा अवस्थित क्याम्पमाथि धावा बाेल्नु थिएछ । जनमुक्ति सेना पूर्वी कमान्डकाे एक टुकडीले हमला गर्याे । त्याे हमला जनतामाथि बर्बरता अपनाउने राज्य सत्ताकाे साेचविरुद्ध थियाे ।

सिन्धुली महादेव डाँडामा पार्टीकाे जनकपुर सगरमाथा ब्यूरोस्तरीय बैठकले त्याे याेजना तय गरेको रहेछ । नेकपा माओवादी पूर्वी कमान्ड ईन्चार्ज कमरेड बादलकाे मुख्य उपस्थितिमा त्याे याेजना बनेको युद्ध माेर्चा सकिएपछि हाम्रा अग्रज नेताहरुले बताएका थिए ।

त्यसबेला सूचना पाउन सजिलो थिएन । गाेपनियता भनेको अत्यन्त कडाइका साथ पालना गर्नुपर्थ्याे ।

म त्यसबखत पार्टीको एसीएम अर्थात एरिया कमिटी मेम्बर थिएँ । हामीलाई निर्देशन यतिमात्रै थियो कि- कमरेडहरु तपाईंहरुले अब गाउँ कमिटीहरुले कलेक्सन गरिदिएको माैसमी चन्दा मकै, धान, भटमास, मस्याम, गुन्द्रुक, फर्सी, स्कुस, आलु जस्ता खाद्यान्न लिएर दुर्छिमककाे हैदे र राजापानीकाे भाँडबेसीमा सेल्टर गर्नू ।

साेही मुताविक धितुङ खाेलीम्पाकाे कमरेड निरकुमार राईकाेमा हाम्रो टाेलीकाे जम्मा हुने जिम्मा पर्याे । रातारात गरेर एक गाेरु र दुईवटा रागाकाे सिकुटी बनाइयाे । हामी सहभागी नेतृत्वमा कमरेड उज्वल, कमरेड श्रद्धा, कमरेड उषा र एकजना नाम बिर्सिए महिला कमरेड सहित पाँच जनाकाे टाेली खटिएका थियौं ।

२ मुरी चामल, ३ मुरी मकै, २ मुरी गहुँ, भटमास, चना, मटर गरी ३ मुरी । याे सबै रातारात भुटेर जम्मा ८ मुरी साथु यानेकि पाेरिज बनाइयाे । पाेरिज स्थानीय लैकु खाेलाकाे एक मिलमा पिसेका थियौं । सिकुटी, पाेरिज, दाल, आलु, फर्सी, स्कुस र अन्य खाद्यान्न जम्मा गर्दा करिब ५० मुरी संकलन भएको थियो । त्यसमा सिकुटी मात्रै २०० किलो भन्दा बढी थियो ।

संकलित सामग्री भाँडबेसीकाे दाजु क्षेत्रबहादुर बुढाथोकीको घरमा स्टाेर गरिएको थियो । त्यसरी नै उता दुर्छिम हैदेकाे लाेकबहादुर खत्री भिनाजुकाेमा पनि त्यति नै सामग्री जम्मा गरिएको थियाे । तर, त्यहाँ सिकुटी र पाेरिज भने थिएन । त्यहाँ उदयपुरकाे घुर्मी बजारबाट ल्याइएकाे चामल, दाल, खाने तेल र मसलाजन्य सामग्री स्टाेर गरिएको थियो ।

त्यसबखत २ लाख रुपैयाँ बराबरको सामान खच्चडबाट मगाइएकाे हाे । यस्तो किन गरिँदैछ ? भन्ने कुरा समेत हामीलाई जानकारी हुँदैनथ्याे । अनि हामी पनि साेध्दैनथ्याैं । किन साेध्ने पनि ? सानाे गल्तीकाे कारण त्यो सबै सामग्री दुस्मनले कब्जा गरेर नष्ट गर्याे भने त्याेभन्दा ठूलो समस्या अरु के हुन्थ्यो हाेला ?

जनताले गाँस कटाएर दिएको चन्दा जसकाे रक्षा गर्नु हाम्रो पार्टीको मूल जिम्मेवारी थियो । र हामी त्याे जिम्मेवारीले बाँधिएका हुन्थ्याै ।

अहिले हलेसी तुवाचुङ नगरपालिकामा जम्मा ११ वटा वडा छन् । तत्कालीन समयमा गाउँ विकास समिति थियाे । त्याे गाउँ विकास समिति मध्ये हाम्रो जिम्मेवारी क्षेत्र डिकुवा, बाहुनीडाँडा, च्यास्मिटार, बडहरे, दुर्छिम, मंगलटार र हलेसी गरी सात गाविस समेटेर एउटा एरिया कमिटी बनेको थियो ।

याे नेकपा माओवादी खाेटाङकाे साताै एरिया कमिटी हाे । यस एरियामा नेतृत्व फेरिरहनु हुन्थ्यो । २०६० काे अवधिमा कमरेड मदन एरिया ईन्चार्ज सेक्रेटरी कमरेड राजेन्द्र उहाँको सरुवापछि कमरेड संगिन नियुक्त हुनुभयाे । त्यसपछि कमरेड मुक्ति ईन्चार्ज सिस्टम हटेर सेक्रेटरी हुनुभयाे ।

उहाँको कार्यकालमा घाेडेटार फाैजी कारबाहीको तयारी गरिएको रहेछ । जुनबेला दसैकाे समय मिलाएर हामीले हैदे टु भाँडबेसी नदी किनारकाे बाटाे निर्माण कार्य त्यस भेगकै जनतासँग साझेदारी गरेर मान्छे हिड्न सक्ने एक मिटरे बाटो तयार गरेका थियौं ।

यस्तो किन गरिँदैछ ? भन्ने कुरा समेत हामीलाई जानकारी हुँदैनथ्याे । अनि हामी पनि साेध्दैनथ्याैं ।

त्याे पनि घाेडेटार माेर्चामा जान र आउन सहज र सुरक्षित रुटकाे रुपमा लिइएको हुनाले पार्टी केन्द्रकाे निर्देशनमा याे रुट मर्मत गरिएको रहेछ । सबै कुरा थाहा नहुने । तर मलाई चाहिँ अलिअलि शंका लागेको थियो । अब पार्टीले फाैजी कार्यक्रम अघि बढाउला जस्तो छ । याे सबै कुरा मनमै राखियो ।

पछि पुस महिनाकाे अन्तिमतिर भने त्याे दुई पाेष्टकाे जिम्मेवारी मलाई ताेकियाे । त्यतिबेला पाेष्ट भनेको शहिदकाे नाममा पार्टी सामग्री राख्ने जनसेनाको भरणपोषणमा सहयाेग पुर्याउने ठाउँलाई भनिन्थ्यो ।

हैदे र भाँडबेसी पाेष्ट म त्यसपछि पाेष्ट बिभाग सम्हाले । याे दुई पाेष्ट कभर गर्न यति गाह्राे भयाे कि सायद जिम्मेवारी ठूलो त हैन खट्न धेरै गाह्राे थियाे ।

हैदेबाट जम्मा भाँडबेसी पुग्न पाँच घण्टा लाग्छ । कुनै बेला तिन पटकसम्म पुग्ने फर्कने गर्नुपर्थ्याे । बिहान ३ बजेपछि चिया पिउन हैदे आइपुग्नु पर्थ्याे । याे दाैडाइमा पर्ने साथीहरु प्रायः साेनाम खट्ने मान्छे हाे भन्ने गर्नुहुन्थ्यो । यसरी तयारी पुरा गरियो ।

जब माघ लाग्यो । जनमुक्ति सेनाकाे डफ्फाहरु क्रमशः क्रमशः अघि बढ्न थाल्यो । तब चाहिँ पक्का भयाे कि पार्टी यतिखेर फाैजी कारबाहीको तयारीमा छ भन्ने । अनि त उत्साह भयाे, उमंग थपियो । शरीरकाे रक्तसंचारमा उर्जा मिल्याे र असाध्यै मिहिनेतका साथ काममा खट्न थालियाे । याे भन्दा अघि फाैजी काम कस्तो हुन्छ ? खास अनुभव पनि थिएन । सामान्य व्यवस्थापनमै रहँदा पनि धेरै ठूलो ज्ञान भरिदाे रहेछ ।

त्याे समयमा ११ जनाकाे स्क्वायट टिम बनेर टाेली सेल्टर बस्थ्याे । प्रायः नआउदा पनि ४५/५० जनाकाे संख्यामा जनमुक्ति सेना आउने गर्थ्याे ।

नभए कम्पनी बटालियन, ब्रिगेडकाे टाेली आउथ्याे । याे संख्यामा १०५/३१५/९४५ पनि हुन्थ्याे । ब्रिगेड डफ्फा आउँदा त माथि दाम्दले टाेल सबै र हैदेकाे सबै जनताको घरमा बाँडिएर बस्दा पनि साथीहरु नअटेर दलान आगनैभरि बस्नुपर्थ्यो ।

म चाहिँ स्टाेर व्यवस्थापनमा बसेको हुनाले प्रत्येक टिम डफ्फाकाे हेर्डक्वार्टर स्टाेर हाेममै रहने भएकोले एचक्युसँग समन्वय हुन्थ्यो । कहाँ के समस्या पर्छ छिन्छिनमै थाहा लाग्थ्यो । र समाधान गर्ने प्रयत्न गरिन्थ्यो । लगभग याे चाप दुई महिना रह्यो ।

जनता पनि उत्साहित थिए । जनताकै साथले बाटो निर्माण सम्भव भयाे । जनताकै सहयाेगमा रासन अन्य खाद्यन्न सामग्री संकलन भयाे । जनताकै उपस्थितिमा जनसेनाले मात्रै गर्न असम्भव ग्रिनेट बम ओसारपसार भयाे ।

सायद अहिले गणतन्त्र आयाे । याे कतैबाट आयतित हैन, नेपाली जनताको ठूलो त्याग र समर्पणकाे कारणले मात्रै जनयुद्ध सफल दिशामा गयाे र गणतन्त्र आएको हाे । जनताले सेल्टर दिए, सुरक्षा दिए, गाँस दिए, कपास दिए, बलिदान दिए ।

यसरी हेर्दा जनताको सम्मान त अझ गर्न सकिएकाे छैन भन्ने लाग्छ ।

माघ १४ राति करिब ९ बजेपछि घाेडेटारमा आक्रमण भयाे । आक्रमण पार्टीले साेचे जस्तो उपलब्धिमूलक भएनछ । पछि सबैतिरकाे रिपोर्ट सुनेपछि थाहा भयाे, घाइते साथीहरुकाे ओसारपसारमा लगभग २५ दिन जति लाग्यो ।

कुशल बटालियन कमान्डर कमरेड जमिन लगायत २४ जना याेद्दाकाे शहादतले विक्षिप्त मनहरु अर्को बदला फर्काउन जनसेनाकाे साथीहरु आकुल देखिन्थे ।

यसरी नै मेरो तीनमहिने कार्यकाल याे दुई पाेष्टमा समाप्त भयाे ।

याे कार्यकालपछि मेराे अन्तरजिल्ला सरुवा भयाे । मेरो लगनशिलता खटाइ देखेर मलाई पार्टीले भाेजपुर जिल्लाकाे वर्तमान संघीय सांसद सुदन किरातीकाे गृह एरियाकाे संयुक्त गाउँ पार्टीमा पठायाे । जरायोटारका कमरेड हेम ईन्चार्ज हुनुहुन्थ्यो । म एरिया कमिटी सदस्य नै थिए ।

हाम्रो भूगाेल धाेद्लेखानी कटुञ्जे, चिलाउनेटार बैकुण्ठे, मानेभञ्ज्याङ, बासीखाेरा र दाबुराङसहित पाँच गाविसकाे संयुक्त गाउँ पार्टी थियाे ।

बासीखाेरा जहाँ रामप्रसाद राई र राष्ट्रपति विद्यादेवी भण्डारीकाे जन्म गाउँ रहेछ । म त्यता पुगेपछि थाहा पाएकाे थिएँ । लगभग दुई महिनाकाे कार्यावधिपछि कमरेड उत्तर हेमजीकाे ठाउँमा ईन्चार्ज भएर आउनुभयाे ।

लगभग संयुक्त गाउँ जनसरकार घाेषणा तयारी अन्तिम चरणमा थियो । कमरेड साेनाम किरातीकाे नेतृत्वमा ९ सदस्यीय संयुक्त गाउँ जनसरकार घाेषणा गरियाे । उपप्रमुखमा दिलकुमार राई लगायत प्रत्येक पाँच गाजस प्रमुख पदेन सदस्य रहने गरी महिला दलित प्रतिनिधिसहित चिलाउनेटारमा एक कार्यक्रमकाे आयाेजना गरी घाेषणा भयाे ।

नयाँ थप जिम्मेवारी त्यहीँबाट प्राप्त गरियाे । सर्वहारा सरकार सञ्चालनमा अनुभव नभए पनि मैले सत्ता र संस्कृतिबारे वैचारिक चेत लिएर त्यहीँबाट व्यवहारमा जाने सुवर्ण  माैका प्राप्त गरेकाे हुँ ।

साेनाम सज्जन किराती

मेराे जीवनकाे लागि याे महत्त्वपूर्ण घडीकाे रुपमा लिएको छु । यही सिलसिलामा मैले २०६३ साल लाग्दानलाग्दै गाेल्मे पहाडबाट कविता लेखन सुरु गरे ।

मैले त्यहीबाट लेखनयात्रा थालेँ । अहिलेसम्म देवनागरी लिपिमा संस्मरणात्मक राजनीतिक लेख र कविताहरु, मातृभाषा कविता चाम्लिङ भाषामा अनुवादित कविता गरी पाँच हजार भन्दा बढी रचनाहरु लेखिसकेको छु । २०७३ मा मेराे प्रथम कविता संग्रह नपुंशक स्वर्गकाे विरुद्ध आगाे प्रकाशित छन् ।

याे समय छाेटाे हैन, अठाराै वर्ष बित्न लागेको समय हाे । अहिले पनि सम्झदा जनयुद्ध कहिल्यै ननिभ्ने लाखाै मुक्तिकामीहरुकाे मानसपटलबाट हटाउनै नमिल्ने सानदार भव्य समय हाे । यसबारेकाे ज्ञान र व्यवहारले प्रकृति र पृथ्वीकाे मानवबस्ती सुन्दर समृद्ध बनाउँदै लान्छ भन्ने लाग्छ ।

4 COMMENTS

  1. अहा अति सुन्दर अनि ती दिनका पुनर्ताजगी ग्राइदिनुभयो

  2. गौरवपूर्ण अवसरको सदुपयोग गर्न पाउनुभएको थियो । संस्मरणहरु निरन्तर आउन् है चाँडै किताब बनाउनुपर्छ ।

  3. यो सबै को साक्षी जस्तो नजिक बाट अनुभुत गरे । सलाम कमरेड सोनाम

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्