‘प्रकृतिपुजक किरात’ समुदायलाई पनि हिन्दू धर्मभित्रै राखेर व्याख्या गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले अन्ततः किरात हिन्दूभन्दा अलग भएको स्वीकार गरेका छन् ।
उनले नेपालमा इसाइ धर्मावलम्बीहरु बढेको र किरात धर्म र संस्कृतिको अस्तित्व संकटमा पर्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।
थापाले आज फेसबुकमा धर्मान्तरणको परिणामले किरात धर्म र संस्कृति संकटमा पर्दै गएको उल्लेख गरेका हुन् ।
किरातीहरु नै बढी इसाइ बन्दै गएको संकेत गर्दै उनले ५० वर्षअघि नगन्य रहेका इसाइहरु आज तेस्रो ठूलो सम्प्रदाय किरातभन्दा बढी भइसकेको बताए ।
‘यसपछि क्रमशः बुद्धिष्ट र हिन्दुहरुको अल्पमतमा पर्ने पालो आउँछ । हाम्रो चेत कहिले खुल्ने हो ?,’ उनले लेखेका छन् ।

