सुनसरी क्षेत्र नं १ (१) का प्रत्यक्ष उम्मेदवार रमेशकुमार बस्नेतले निर्वाचनमा आफू विजयी भए प्रदेश १ को नाम किरात प्रदेश राख्न पहल गर्ने बताएका छन् ।

नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको तालमेलमा एमालेबाट साझा उम्मेदवार बनेका बस्नेतले बुधबार धरानमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन् ।

‘किरात भनेको जाति होइन सभ्यता हो । प्रदेश १ को नामकरण गर्दा सभ्यताको हिसाबले किराती बाहुल्यताको हिसाबले किरात प्रदेश राख्नुपर्छ,’ बस्नेतले भने, ‘भोलि प्रदेश संसदबाट पास गर्न सकिन्छ सकिन्न म अहिले भन्न सक्दिनँ । तर त्यसको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’

उनले आफू अहिले उम्मेदवार भएकोले मात्रै किरात प्रदेशको पक्षमा नरहेको प्रष्ट पारे ।

उनले प्रदेश १ को नाम राख्न नसकिएकोमा ठूलो पार्टीको हिसाबले नेकपा एमालेले बढी जिम्मा लिनुपर्ने बताए ।

उनले आफ्नाे पार्टीले प्रदेश १ को नाम कोशी राख्न प्रस्ताव गरेको सुनेको तर त्यसमा गहन छलफल नै हुन नसकेको पनि बताए ।

उनले भने, ‘एमालेले कोशी प्रदेशको प्रस्ताव ल्याएको हो भन्ने मैले बुझेको छु । तर ठ्याक्कै यही हुनुपर्छ भन्दा पनि छलफल गरौ भन्दा त्यो खालको वातावरण बन्न सकेन ।’

उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा मतदान गरी विजयी गराउन आग्रह पनि गरे ।