सुरुवात
दसैँकाे सुरुवात कहिलेबाट भयो? कसले किन सुरु गराए? कसरी भयो? भन्ने कुरामा यकिन भन्न सकिने अवस्था देखिन्न। हिन्दु धर्मावलम्बीहरूकाे पनि मतैक्य छैन।
किरात जनविश्वास अनुसार फलफूल र सिकारबाट जीविका चलाउने किरात आदिम पूर्खा हेच्छाकुवा (हेच्छाकुप्पा/रैछाकुले) ले केराको बोट त रोपेर फल खाइसकेकै थिए, एकदिन ढुक्कुरको सिकार गरे।
ढुक्कुरको माथिल्लो पेट (गाँड) मा विभिन्न खालको अनाज देखेपछि उसलाई लाग्यो- चराले ख़ान हुने पक्कै मैले खान मिल्छ भनेर त्यो अनाजलाई बारी बनाई छरे। उम्रेर हराभरा भइ फल्य। यहीबाट यसरी मानव इतिहासमा हाम्रो पूर्खाले खेतीपाती सुरु गरे भन्ने किरात जनविश्वास रहिआएकोछ।
यसरी त्यो अनाज फलेर पाक्यो, अन्न सेवन गर्दा हेच्छाकुवालाई बिसाएछ। मुद्धुम माङ वाणी पाएको उसले मुद्धुम पुकारेर जोखाना हेर्दा “तिमीलाई जन्मदिने पिता पूर्खालाई बिर्सेछाैँ, आफ्नाे प्रातः पिता-पूर्खालाई पूजेर अन्न चढाएर मात्रै आफूले खानू“ भन्ने जोखाना देखायो।
त्यसपछि हेच्छाकुवाले आफ्नाे नयाँ बाली नयाँ अन्न भित्राएपछि पिता-पूर्खालाई चढाउने पुज्ने गर्न थाले। वार्षिक रूपमा यो क्रम जारी रह्यो, र यो चलन परम्परा बन्न गयो। यहीबाट हामी किराती पितृपूजक बन्याै भन्ने जनविश्वास छ।
पितृलाई चढाएको नयाँ अन्नको अंश पितृको आशिष्/प्रसादको रूपमा हेच्चाकुवाले टीका लगाए। पछि नागको छोरीसँग उसले बिहा गरे, सन्तानहरू भए। पितृपूजा गरेर चढाएको प्रसाद अन्नको टीका आफू लाए, परिवार र सन्तानहरूलाई पनि लगाइदिन थाले, यही परम्परा बस्यो।
धेरै वर्षअघि, चरा भई उत्तर दक्षिण उडेर गएको हेच्छाकुवाको दिदीहरू तावामा र खिवामालाई माइती घर र भाइ हेच्छाकुवाको याद आएछ।
शिशिर श्रुतिको मौसम पाकेको अन्नवाली खाँदै दिदी-बहिनी माइती घर जन्मघर पुग्दा- बाली केही पाकिसकेको, केही बाँकी; आधा अन्न भित्राइसकेको समय असाेजको घमाइलो दिनमा उधौलीको मौसम सुरू हुँदै गर्दा हेच्छाकुवाले पितृपूजा गरी अन्न चढाइ सो अन्नको टीका सन्तानलाई लगाइदिई खुशी मनाइरहेको दिदीहरू देखे।
बाबु-आमा गुमाएको दिदी-बहिनीको एक मात्र भाइ ज्वरो आई बिहोस हुँदा मर्यो भनेर विरक्तिएर हिँडेको दिदी-बहिनी तावामा खिवामा भाइ जिउँदै, परिवार, सन्तानसहित खुशियाली मनाउँदै गरेको देख्दा छक्कै परे।
मुद्धुममा शक्ति हासिल गरिसकेको भाइले चरा भएको चेलीहरू चिनेर बोलाए, आफ्नाे असली रूप धारण गरी दिदीहरूलाई पनि पितृ प्रसाद टीका लगाइदिए; यही परम्पराबाट दसैँको सुरु भएको जनविश्वास रहेकोछ, आज दसैँ चाडको विकसित रूपमा मान्दै आएकोछौँ।
यो चलन वार्षिक रूपमा हुँदै गयो। प्रातः पिता-पूर्खालाई नयाँ अन्न चढाइ गरिने पुजा पितृपूजन रूपमा विकास हुँदै पितृपुजक रूपमा किरातीहरू चिनिन थाल्याै।
याे संस्कृति हुँदै सभ्यताको सुनौलो आयाम बन्यो।
कालान्तरमा दसैँ जीवित पिता, पूर्खा र अग्रज मान्ने संस्कार-संस्कृतिकाे रूपमा आजको रूपमा विकसित भयाे। हेच्छाकुवाको युग सृष्टिको उपल्लो बिन्दु हो, यो हजारौ होइन लाखौ वर्ष पुरानो हुनुपर्छ। सोही समयदेखि दसैँ सुरु भयो भन्ने मान्नुपर्छ।
समय बित्दै गयो। सय, हजार, दश हजार, अनि लाखौ वर्ष बितेर गयो। यो किरातभूमिमा किरात सभ्यता बन्यो। आज याे सर्वश्रेष्ठ र सबैभन्दा पूरानो सभ्यताको रूपमा परिचित छ।
यसरी दसैँ किरातहरुको मौलिक चाड हो; पितृ पूजक किरातहरूले जीवित पूर्खा (बाजे, बोजु, बुबा-आमा) र अग्रजलाई सेवा सम्मान गर्ने, उहाँहरूबाट आशिष् रुपी टीका र गच्छेअनुसारको दक्षिणा प्रदान हुने सजीव संस्कृति हो दसैँ।
नयाँ रूपकाे दसैँ
क्रमिक रूपमा युग बित्दै गयाे। माङले सृष्टि गरिदिएको पृथ्वीमा जनसंख्या बढ्न थाल्याे। मानिसहरू अन्यत्र ठाउँबाट किरात भूमिमा बसाई सरी आउने क्रम सुरु भयो।
पछिल्लो चरण ३५०० वर्षदेखि ५५०० वर्ष (समाजशास्त्री अनुसार), यो भूमिमा ककेसियाबाट पर्सिया हुँदै आएको समुदाय हाम्रो पूर्खाहरूको शरणमा परे। यहीको सिमेभुमे अवतारी देवीदेवताहरूको शरणमा परी पूजा-अर्चना गर्न थाले।
यस क्रममा किरात संस्कार-सस्कृति, सभ्यता, मुन्धुमकाे कुरा बुझे, टिपोट गरे। अनि, आफ्नाे बनाउने क्रममा काल्पनिक कथा जोडी धर्मशास्त्र बनाए।
यही क्रममा जीवित पिता पूर्खा मान्ने र पिता पूर्खा वा अग्रजबाट दिइने आशिष् टीकालाई नयाँ कथावस्तु जोडी नयाँ रूपमा दसैँ बनाए। शासन सत्ता कब्जा गरी दसैँलाई राष्ट्रिय चाड बनाए र राष्ट्रिय चाड मान्न लगाए।
समग्रमा दसैँ के हो?
(क) दसैँको सैद्धान्तिक पक्ष र किरातकाे सम्बन्ध –
१) असत्यमाथि सत्यको बिजयः-
म (याे लेखक) समेत सबै किरातीहरू आफ्नाे उत्पतिकालदेखि सत्यको पक्षमा रहिआएको, र रहिरहने; सत्यको पक्षमा आफ्नाे जीवन बलिदान दिने किरातीहरू दसैँसँग अभिन्न सम्बन्ध शिद्ध छ।
२) राक्षसमाथि देवीको जीत अर्थात् राक्षसी प्रवृतिमाथिः-
दैविक शक्ति/प्रवृत्तिको जीत; किरातीहरू सदा देवदेवी (माङ) को पूजा गर्ने हुन्। राक्षसी आत्मा (देशान, मसान, पिशाच, भुतप्रेत आत्मा आदि) लाई धामी-झाँक्री फेदाङ्मा राखी मन्साउँछन्; न किरातीहरू राक्षसको सन्तान हुन्, न आजन्म राक्षसी आत्मालाई आत्मासात् ग़रे। यसरी किरात जीवन पद्धतिसँग मेल खाएको छ।
(ख) दसैँकाे व्यवहारिक पक्ष र किरातको सम्बन्ध –
१) शक्तिकी देवी नवदुर्गा भगवती र उनकाे नौ रूपको पूजा आराधना गरी शक्ति शौर्य र समृद्धि माग्नेः-
दसैँको ९ दिन दुर्गादेवी भगवतीको पुजा आराधना गरिन्छ। उहाँ दुर्गा भगवती नै महादेव पत्नी पार्वती हुन्। हिन्दु मूल मान्यता अनुसार देवहरूको देव महादेव (शिव) लाई किरात र पार्वती किरात नारी मानेको छन्। दसैँकाे ९ दिन त किरात नारीको पुजा आराधना रहेछ।
२) जीवित पितृ (बाजे, बोजु, बुबा, आमा) र अग्रजको सम्मान गर्ने र टीका आशिष् ग्रहणः-
दसैँकाे १० औँ दिनदेखि पूर्णिमासम्म टीका थाप्ने कार्य त किरातीहरूको पितृ पूजनकाे जीवन्त पद्धति पो रहेछ।
३) पारिवारिक भेटघाट, एकता र खुशी आदान-प्रदान गर्नेः-
आजकाे युगमा आइपुग्दा पेसा, व्यवसाय, जागिर, वैदेशिक रोजगार आदि कारण अलग बस्नु परेक़ो परिवारहरुको मिलन, एकता गराउने, खुशी र मनोरन्जन हो आजको दसैँ। पारिवारिक शक्ति र एकता नवीकरण गर्ने कडी हो दसैँ।
दसैँ बहिष्कार र उसको रहस्य
निरंकुश तानाशाही ब्यवस्था ढली खुल्ला व्यवस्था आउना साथ २०४७ सालदेखि आदिवासी/जनजाति खासमा किराती समुदायमा दसैँ बहिष्कार गर्न आह्वान गर्न थालियो।
दसैँको साथै संस्कृत भाषा र हिन्दु धर्मग्रन्थ बहिष्कार गर्न भनियो। संस्कृत भाषा खारेजीको लागि त अभियान नै चल्याे।
यो बहिष्कारको आह्वानकर्ता MNO नामको पार्टी अध्यक्ष गोपाल गुरुङ र राष्ट्रिय जनमुक्ति मोर्चाको महासचिव गोरेबहादुर खपाङ्गी मगर रहेछन्; गुरुङ राजदरबारनिकट पत्रकार र खपाङ्गी कम्युनिस्ट नेता।
मनुवादी राज्य संचालक वर्गले यो देशको आदिवासी, खासगरी किरात समुदायलाई आफ्नाे चीर स्थायी शत्रु मानिआएकोले शत्रुको पारिवारिक अनुशासन र एकता बढाउने कडी र पद्धतिलाई बहिष्कार गराउने ग्रान्ड डिजाइन अनुरूप दसैँ बहिष्कार सुरुवात गराइएको थियाे।
गजपकाे संयोग
निरंकुश पञ्चायती व्यवस्था रहेसम्म आदिवासी/जनजातिको हितमा नबोल्ने पत्रकार र कम्युनिस्ट नेताले बहुदलीय ब्यवस्था आउनासाथ हतारमा २०४७ वैशाख महिनामै आदिवासी/जानजातिको लागि भनी पार्टी खोल्नु एक संयोग थियो भने र बहिष्कारकाे बिषय मेल खानु अर्को संयोग थियो।
दसैँ बहिष्कार गर्न दिइएको कारण
बहिष्कार आह्वानकर्ताहरूले भनेका कारणहरू ठोस र स्थिर रहेन, र आफैमा अपत्यारिलो र फितलो थियाे, जुन निम्न रहेको थियो;
१) २०४७-२०४८ मा – हिन्दु धार्मिक चाड बहिष्कार,
२) २०४९ मा – हामी मंगोलको पूर्खा राक्षसलाई देवतागणबाट मारिएकोले,
३) २०५१-२०५३ मा – राजा मानसिंह खड्ग मगरको हत्या द्रव्य शाहले गरी रगतको टीका लगाएको र लाउन लगाएकोले,
४) २०५४ देखि पृथ्वीनारायण शाहले हाम्रो पूर्खाको हत्या गरी विजयउत्सवमा टीका लाउन लगाएकोले,
५) २०५८ देखि रामली हाङ र रिदिमा नामको आठपहरिया राईले दसैँ मान्न इन्कार गर्दा राणा शासकले फासी दिएकोले।
उक्त बमोजिम दसैँ बहिष्कारको कारण एकरूपमा नदिनु, अस्थिर हुनु, दिएको कारणहरू अविश्वसनीय र फितलो र ठोस प्रमाण र घटना उल्लेख गर्न सकेको देखिएन,
दसैँ बहिष्कारको आह्वानमा लुकेको रहस्य
यसरी खुला व्यवस्था आउना साथ दसैँ बहिष्कारको आह्वानको पछि लुकेको रहस्य बुझ्न २०३६/२०३७ पछिको पन्चायती राजनीति र देहायको ३ प्रश्नको उत्तरबाट प्रष्ट हुन्छ।
निर्दलीय पन्चायती व्यवस्था नेता पन्चहरू दुई गुट (उदार र अनुदार) मा विभाजित भएकाे, अनुदार गुटका पद्मसुन्दर लावती एक सशक्त नेताको रूपमा उदय भैसकेकोले कुनै पनि बेला राजाले प्रधानमन्त्री बनाउने सम्भावना प्रवल भएकोले गैरआर्यबाट प्रधानमन्त्री बन्न नदिनका लागि राजदरबारको एक शक्ति (भूमिगत गिरोह/असंवैधानिक शक्तिकेन्द्र) ले पूर्वी नेपालमा पद्मसुन्दर लावतीले “सेतामगुरालि” नारा लगाएको छ भनी प्राेपाेगान्डा मच्चाएर राजालाई रिपोर्टिङ गरेकाे थियाे।
पन्चायत ढल्ना साथ उनै राजदरबारको असंवैधानिक शक्ति केन्द्रले “सेतामगुरालि” लाई नाम परिवर्तन गरी मंगोल नेशनल अर्गनाइजेशन (MNO) बनाई पार्टी खोल्न लगाए ! यसकाे अलावा निम्न प्रश्नको उत्तर आफैले खोजी गर्दा अझ स्पष्ट हुनेछ।
१) २००७ सालसम्म जनताको छोराछोरीलाई पढ्न प्रतिबन्ध थियो। अझ दलित, मतवाली भनिएको मंगोल/आदिवासी-जनजातिले पढेको पाइए कठोर दण्ड दिने व्यवस्था थियो। जबकि राजा, राणा, दरबारिया भाइभारदार पण्डितको छोराछोरीले पढ्न हुने रहेछ। जनताको छोराछोरीले चाहिँ किन पढ्न नहुने?
२) २००८ देखि २०४६ सम्म हिन्दू धर्मग्रन्थहरू महिला, मतवाली (मंगोल, आदिवासी/जनजाति), दलित समुदायले पढ्न हुँदैन भनियो। किन जबकि ब्राह्मण छेत्रीहरुले पढ्न हुने रहेछ?
३) २०४७ को खुला व्यवस्था आउन हिजो २०४६ सालसम्म निरंकुश शासक, प्रशासक र धुर्त पण्डितहरूले पढ्न हुँदैन भनिएको हिन्दू ग्रन्थहरू स्वयम् आदिवासी/जनजाति- मंगोलका नेताहरुले किन बहिष्कार गरे र पढ्न हुन्न भने?
यी माथिका ३ प्रश्नको उत्तर खोज्नुहाेस्, दसैँ बहिष्कार र त्यसकाे रहस्य प्रष्ट हुन्छ।
दसैँ बहिष्कार एक खतरनाक षड्यन्त्र
माथिल्लो उपशीर्षककाे विश्लेषण र तीन प्रश्नहरूबाट संकेत मिल्छ कि दसैँ बहिष्कार एक खतरनाक षड्यन्त्र हाे। अब स्पष्ट उल्लेख गरौ- निम्न सोच (षड्यन्त्र) को लागी दसैँ र हिन्दु धार्मिक ग्रन्थ अध्ययन गर्न बहिष्कार गराइएको हो।
(क) विशुद्ध हिन्दु धर्म र सभ्यता बनाउनः-
हिन्दु धर्म र आर्य सभ्यताको स्रोत किरात संस्कृति र सभ्यता हो। अर्थात किरात सभ्यताको नक्कल भन्ने कुरा कट्टरपन्थीहरुलाई स्पष्ट छ; यो कुरा क्रमिक रूपमा खुल्दै आएको कट्टर मनुवादी ब्राह्मणको टाउको दुखाइ थियाे।
अब प्रजातान्त्रिक लोकतान्त्रिक युगमा यो कुरा सहज रूपमा थाहा हुनेदेखि आफ्नाे विश्वासपात्रको माध्यम दसैँ बहिष्कारसँगै हिन्दु धर्म शास्त्र वेद, गीता, महाभारत, मनुस्मृतिजस्ता ग्रन्थहरूको बहिस्कार सुरु गराइएको थियो/हो। त्यसकारण यो खतरनाक षडयन्त्र हाे।
(ख) किरात देवीको पूजाबाट बञ्चित गराउनः-
दसैँ घटस्थापनाको भोलिपल्ट परेवादेखि नवमी तिथिसम्म ९ (नौ) दिन शक्ति स्वरूपा नवदुर्गा भगवतीको पूजा आराधना गरिन्छ। दसैँको मुख्य २ सैद्धान्तिक पक्षमध्य एक हो पूजा आराधना। याे दसैँको ५० प्रतिशत हिस्सा भन्दा फरक नहोला।
यी शक्तिस्वरूपा नवदुर्गा अरु कोही नभएर पार्वती हुन्। हिन्दु मान्यता अनुसार शिव र पार्वती किरात हुन्ः अतः दसैँको ९ (नौ) दिन त किरात देवीकाे पूजा आराधना पो रहेछ। त्यसैले यो पूजा आराधनाबाट रियल स्टेक होल्डर किरातहरूलाई छुटाउने मनुवादी सोच (षड्यन्त्र) अनुरूप दसैँ बहिष्कारकाे सुरुवात गराइएकोको थियाे।
(ग) जीवित पितृ पूजनको सजीव (Live) संस्कार सभ्यता पालनामा ब्रेक लगाउनः-
दसैँकाे दोस्रो सैद्धान्तिक पक्ष आफ्नाे बुबा, आमा, बाजे बजु, मामा, मावली, बडा काका, अग्रजको सम्मान स्वरूप कोसेली (उपहार) उपस्थित भई नमस्ते/सेवाढोग गर्ने र उहाँहरूबाट आशिष् सहित टीका ग्रहण गर्नु हो! दसैँको १०औँ दिन दशमी तिथिदेखि पूर्णेसम्म ५ दिन लगाइने टीका वास्तवमा पितृ पूजक किरातहरूले जीवित पूर्खाहरूलाई मान्दै (सेवा सम्मान/पूजन) आएको सजीव (Live) संस्कार सभ्यता हो। यो कुरा याे लेखको अग्रभागमा विस्तृतमा उल्लेख छ; यसबाट किरात समुदायलाई ब्रेक लगाउने मनुवादी षड्यन्त्र अनुरूप दसैँ बहिष्कार सुरु गराइएको थियो।
(घ) पारिवारिक अनुशासन र एकता भत्काइदिने कुटिल उदेश्यः-
वस्तुतः दसैँको उत्पतिकादेखि आजसम्म हेर्दा दसैँ पारिवारिक अनुशासन र एकता बनाई राख्ने कडीकाे रूपमा रहिआएको छ।
मनुवादी राज्य संचालक वर्गले यो देशको आदिवासी, खासगरी किरात समुदायलाई आफ्नाे चीर स्थायी शत्रु मानिआएकोले शत्रुको पारिवारिक अनुशासन र एकता बढाउने कडी र पद्धतिलाई बहिष्कार गराउने ग्रान्ड डिजाइन अनुरूप दसैँ बहिष्कार सुरुवात गराइएको थियाे।
अन्तमा,
यो लेखको अभिप्राय मनुवादी ब्राह्मण पण्डितहरूको षडयन्त्र बुझाउन र सोझो अर्थमा विचार विश्लेषण नगरी संस्कृत भाषा, हिन्दु धर्मशास्त्रसँगै दसैँ बहिष्कार गर्नेहरूलाई बहिष्कारको परिणाम बुझाउन र किरात सांस्कृतिक पुनर्जागरणको नकारात्मक पक्ष ( एन्टी हिन्दु स्कूल) बारे सचेतता जगाउनलाई हो।
प्रिय दसैँ बहिष्कारवादी किरातीहरू हो;
दसैँ बहिष्कारको आह्वानकर्ता गोपाल गुरुङ क्रिश्चियन र उसको गुरुङ समुदाय बुद्ध धर्मावलम्बी हुन्। मगर जाति पनि बुद्ध धर्मावलम्बी हुन्।
गुरुङ र मगरहरू दसैँ मान्दैनन्। ल्होसार हो मगर गुरुङकाे चाड। अब सोच्नुस् त दसैँ नमान्ने गोपाल गुरुङ र गोरेबहादुर खपाङ्गी मगरले दसैँ बहिष्कारको आह्वान कसको लागि र किन गरेको रहेछ?
मनुवादी ब्राह्मणको कुटिल सोच र षड्यन्त्र हो भन्ने कुरा प्रिय दसैँ बहिष्कारको यो ३६औँ वर्षमा त बुझौ, दसैँ बहिष्कारवादी किराती हो।
दसैँ नमान्ने गोपाल गुरुङ (क्रिश्चयन), गोरेबहादुर खपाङ्गी मगरको सुरू आह्वानमा बिचार बिश्लेषण नगरी याे लेखक Kiwang Hang Rai ले पनि २०४७ सालमा दसैँ बहिष्कार गरेको थियो।
२०४८ सालमा मातृशोक परेकोले पनि दसैँ बहिष्कार जस्तै भयो। २०४९ सालको दसैँ सुरू नहुँदै गोपाल गुरुङकाे दसैँ बहिष्कारको आह्वान पर्चा फेला पर्यो।
जसमा मंगोल (आदिवासी/जनजाति)हरू राक्षस गण हुन्, रावण, मैशाशूर तारकाशूर जस्ता आफ्नाे पूर्खा देवगणले मारेकोले दसैँ बहिष्कार गरौ भन्ने कुरा उल्लेख भएकोले सोको बिरोध गरी दसैँ पुनः मान्न थालियाे।
स्वर्गबासी आमाको दसैँ हाम्रो (किरातीको) हो, मान्नुपर्ने अडान (एक प्रकारले भिटो) सही थिएछ, सम्झना भयाे। पारूहाङ सुम्निमाका सन्तान हामी राक्षस् हुन नसक्ने भनी अडानका साथ दसैँ मानियो र सोही समयदेखि दसैँबारे अनुसन्धान सुरु गरियाे।
हामी किराती बहुसंख्यकले सोच बिचार र विश्लेषण गर्दैनौ। इतिहास कालखण्डकाे उताव चढावमा कैयाै राष्ट्र/जातिको उदय र समाप्ति भयो।
राज्य विस्तारको क्रममा हजारौ लडाईं, युद्ध, सशस्त्र विद्रोह, जनक्रान्ति भए। लाखौमा होइन करोडकाे संख्यामा मानिसको हत्या गरिए। कैयौ वंश विनाश र पतन भएको इतिहास छ।
हाम्रो नेपालमा पनि राज्य स्थापना र राज्य विस्तारको घटना भएको, पछिल्लो समय लिगलिगकोट कब्जा पछि जन्मेको गोरखा राज्यले त्यहाँका गणराज्यहरू (मगर गुरुङका राज्य) गोरखामा गाभेर मगर गुरुङलाई बफादार सेना बनाएको, सोही सेनाको बलमा पृथ्वीनारायण शाहले बाँकी गणराज्यहरू (खस ठकुरी, मल्ल, तामाङ, किरात राज्यहरू) माथि विजय पाएको इतिहास बाबजूद मिलेर रहेको समाज, शासक र शासित बीच शोषण दमन बिद्यमान रहेको यथार्थता बीच २०४७ सालमा आदिवासी/जनजाति, मंगोल मुक्तिको नारा सहित स्थापना भएको ३ पार्टीले मुक्तिको लक्ष्य प्राप्ति भन्दा जातीय विरोध भड्काएर लक्ष्य विपरीत सोच शक्तिलाई टेवा पुर्याएकाे देखियाे।यसक्रममा दसैँ बहिष्कारकाे आज ३६ बर्षमा पनि दिग्भ्रमित अवस्था छ।
जबरदस्ती लादिएको हिन्दु चाड, पूर्खालाई मारी बिजयमा मानेको दसैँ बहिष्कार गरौ भनी युगौ सोच दिमाग freeze गराएर बस्नु भन्दा वास्तविकताको अध्ययन अनुसन्धान गरी टुंगाेमा पुग्न म अनुरोध गर्दछु।
मेरो अध्ययन र अनुसन्धानको टुंगाे
१) किरातहरू राक्षसकाे सन्तान हाेइन;
२) लिगलिगकोट राजाको हत्या र पृथीनारायण शाहको विजयसँग दसैँको सम्बन्ध स्थापित हुने अकाट्य प्रमाण देखिएन;
३) हिन्दु धर्म चाडको विश्लेषण गर्दा हजारौ हजार, सम्भावित लाखौ बर्षको किरात उपस्थिति र सभ्यता विद्यामानता बीच ३५०० देखि ५५०० वर्ष अघि मात्र आई आफ्नाे धर्म संस्कार बनाएको आर्यनहरूको धर्म संस्कार संस्कृतिको स्रोत सरासर किरात सभ्यता हो भन्ने प्रमाणित हुन्छ।;
४) दसैँको खराब पक्ष (जाँडरक्सी मासुको बढी सेवन, भोज, सोक्रममा झगडा) लाई बहिष्कारबादी हरूबाट बहिष्कार नगरिएर निरन्तर राखेको;
५) दसैँको असल पक्ष- आफ्नाे आमा, बुबा, अग्रज मान्ने र उहाँहरुबाट प्राप्त आशिष् टीका चाहिँ बहिष्कार गरिएको;
६) दसैँको अशल पक्ष पितृपूजक किरातीहरूको सजीव (live) संस्कृतिमा आधारित रहेको;
निष्कर्ष
दसैँ चाड पितृ पूजक किरात संस्कृतिको सजिव प्रयोग अर्थात निरन्तरता हो; यसकाे बहिष्कार गर्नु आफ्नाे संस्कार, सभ्यता त्याग्नु, पारिवारिक अनुशासन र एकता तहसनहस गर्नु र मनुवादी ब्राह्मणवादी षडयन्त्र पूरा गर्नु हाे।