माइतीघरकाे नाम फेरेर ‘फिब्वः ख्यः’ राख्ने महानगरकाे तयारी

काठमाडाैंकाे माइतीघर मण्डला एक चर्चित ठाउँ हाे । सरकारविरुद्ध आन्दोलन तथा प्रदर्शन गर्ने एउटा क्षेत्रको रुपमा पनि परिचित छ माइतीघर ।

काठमाडाैं महानगरले माइतीघरकाे माैलिक नाम राख्ने तयारी गरेकाे छ । जसकाे माैलिक नाम ‘फिब्वः ख्यः’ हाे ।

महानगरले काठमाडौं उपत्यकाकै सांस्कृतिक महत्व झल्काउने नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने भएकाे छ ।

महानगरभित्रका मौलिक सांस्कृतिक नाम पुनःस्थापना गर्ने अभियान अन्तर्गत महानगरले नाम फेर्न लागेको बताएको छ ।

“स्थान नाम परियोजनाअन्तर्गत महानगरभित्रका सांस्कृतिक, पुरातात्वतिक र ऐतिहासिक महत्वका मौलिक नामहरु पुनःस्थापना गर्ने तयारी भएको छ,” मेयर बालेन शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंले भने ।

माइतीघर फिल्म निर्माणका बेला कार्यालय रहेका कारण यो ठाउँको चलनचल्तीको नाम माइतीघर रहन गएको हो ।

२०५७ मा भएको ११औंमा सार्क शिखर सम्मेलनका लागि मण्डला बनाइयो । सँगै माइतीघर पछाडि मण्डला जोडियो ।

काठमाडौंका तत्कालीन मेयर केशव स्थापितले यो क्षेत्रमा रहेका साना टहरा हटाएर मण्डला बनाउन लगाएका थिए ।

उपत्यकाका नेवारी भाषी समुदायले भने माइतीघर मण्डलालाई ‘फिब्वःख्यः’ भन्ने गर्छन् ।

माइतीघरमा पहिले बालुवाका साना ढिस्का हुने गर्थे । बालुवाका ढिस्कालाई नेपाल भाषामा ‘फिब्व’ भनिन्छ ।

नजिकै भद्रकालीमा रहेको सेनाको ब्यारेकभित्र नेवार समुदायले पुजाअर्चना गर्ने ‘फिब्वः अजिमा’को मन्दिर छ । यही कारण माइतीघरलाई अजिमाको चौर भन्ने अर्थमा ‘फिब्वःख्यः’ भन्ने गरिन्छ ।

महानगरले माइतीघरमा फिब्वः अजिमाको चित्र पनि बनाउने बताएको छ । माइतीघरको सडक पर्खालमा उक्त चित्र बनाउन लागिएको महानगरले बताएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. पहिचान झल्काउने काम शुभकामना छ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्