बुद्ध दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ आइतबार सम्पन्न भएको छ ।
भक्तपुरकाे जर्मन होम्समा सम्पन्न एक दिने सम्मेलनकाे नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए ।
जसमा थाइल्याण्डबाट आएकी ९८ वर्षीय आचार्य सुजिनले भगवान् बुद्धलाई कसरी चिन्ने ? भन्ने विषयमा प्रवचन दिएकी थिइन् ।
कार्यक्रमकाे उद्घाटन गरेपछि मन्त्री पाण्डेले बुद्धले दिनुभएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।
उनले भने, ‘बुद्ध नेपालमा जन्मेकोमा गर्व गर्नु भन्दा पनि बुद्धको ज्ञानलाई आफ्नो जीवनमा अनुसरण नगर्ने हो भने त्यो गर्व गरेको कुनै अर्थ छैन ।’
देशको वर्तमान शिक्षा पद्धतिलाई सैद्धान्तिक भन्दा व्यवहारिक र सदाचारी बनाउनुपर्ने आवश्यकता औल्याउदै मन्त्री पाण्डेले शिक्षा पद्धति आध्यात्मिक र व्यक्तिको चेतनास्तर बढाउने किसिमको हुनुपर्ने बताए ।
सम्मेलन कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन तथा धम्म लर्निङ एण्ड सपोर्टिङ सेन्टरको संयुक्त आयोजनामा भएकाे हाे ।
जसमा बुद्ध धर्मका विद्वान्, अनुसन्धानकर्ता, प्रचारक, अध्यापक गरी थाइल्याण्डसहित विभिन्न देशबाट ६० जना सहभागी थिए भने नेपालबाट ४ सय भन्दा बढीको सहभागिता रहेको थियो ।