पहिलाे र दोस्रो विश्वयुद्धमा मृत्यु भएका वीर गोर्खाहरूको सम्मान र सम्झनामा शनिबार धरानमा तेस्रो गाेर्खा ट्रेलब्लेजर दौड सम्पन्न भएको छ ।

गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले आयोजना गरेको उक्त दौडमा सयौंले भाग लिए ।

उक्त दौड धरान १८ स्थित रत्नचोकदेखि मंगलबारेचोक हुँदै धरान २० स्थित गोर्खा स्मृति पार्कसम्म १० किलोमिटर लामाे थियो ।

जसमा पुरुषहरूमा सरोज लिम्बू, ओसन राई र स्काइ लिम्बू क्रमशः पहिलाे, दोस्रो र तेस्रो भए । महिलाहरूमा पुष्पा सेर्मा लिम्बू, दिर्पा बस्नेत र इन्द्रकला लिम्बू पहिलाे, दोस्रो र तेस्रो भइन् ।

गोर्खा स्मृति पार्कमा आयोजित कार्यक्रममा पहिलाे, दोस्रो र तेस्रो हुनेहरूलाई जनही २० हजार, १० हजार र ५ हजार नगदसहित मेडल र प्रमाण-पत्र प्रदान गरिएकाे छ ।

पहिलाे भएका सराेज लिम्बू र पुष्पा सेर्मा लिम्बूले सन् २०२६ मा हङकङमा हुने गोर्खा ट्रेलब्लेजर सहभागिता जनाउने आयोजनककाे भनाइ छ ।

दाैड सुरु हुनुअघि दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्तेढुङ्गाका र हाल उदयपुर बेल्टार निवासी १०२ वर्षीय भूपू ब्रिटिश आर्मी दलबहादुर राईलाई सम्मान गरिएको थियाे ।

त्यसैगरी धरानकाे रत्नचोक निवासी भूपू ब्रिटिश आर्मीका क्याप्टेन दिवङ्गत रत्नमान राईकी श्रीमती ८५ वर्षीया कृष्णदेव राईलाई पनि सम्मान गरियाे ।

सोही अवसरमा धरानका पत्रकार तथा लेखक जनकऋषि राईले उल्टो दौड गरेका छन् ।

उनले ताप्लेजुङको मुक्कुमलुङमा निर्माणाधीन केबलकारकाे प्रतिरोधमा उल्टो दौड गरेका हुन् । उनले १ घण्टा ४६ मिनेटमा दाैड पुरा गरे ।