प्रिय सहयोद्धा साथीहरू, सेवारो ।
पहिचान, इतिहास र सभ्यताको
खबरदारी गर्दा गर्दै
दुस्मनको आदेशमा
लाठी, अश्रुग्यास, गोलीहरू चले
म, अग्रभागमै ढलेँ ।
दुस्मनको प्रहारलाई झिँगा सम्झिएँ
चैत ५ गतेको पिडालाई, ऊर्जा बनाएर डटिरहेँ ।
केही दिन दुखाइ बिर्सेर,
पन्चायतको मसान जगाउनेहरू विरुद्ध
घरको ओछ्यानमै ढल्केर ।
आन्दोलनको, योजनाहरू बुन्दै थिएँ ।
हिक्मत कार्कीको प्रहारलाई
निको पार्न
आफन्तहरूले घोपा लगे ।
म, दुइटा भैसकेछु अस्पतालमा
शरीर मुडा जस्तो
आत्मा, चरा जस्तो भुर भुर
घोपाको कम्पाउण्डभरि डुलिबसेँ ।
आमा-बाबाहरूको गालाका कान्लाभरि
अरुण, तमाेर बगिरहेको देखेँ ।
आफन्तजनको आँखामा
असङ्ख्य झरनाहरू उर्लिदै थिए ।
म, अर्को स्वरूपमा पुगिसकेको हुँदा
न छोरालाई काँध हाल्न सक्थे ।
न आमा-बाबाको लौरो बन्न सक्थे ।
फ्रिजमा म, ढुङ्गा भैसके पनि
तपाईंहरूकाे मन मनमा
तातो रगत बनेर
समाचार भै पसिसकेको पाए ।
कहिल्यै ननिभ्ने आगो भैसकेको थिए ।
मेरो हातको मसाल
देश विदेशमा सल्केको देखेँ ।
इन्डिया, ब्रिटेन, सिङ्गापुर, नेपाल आदिका
सबै सिपाहीहरूकाे परेडमा
मेरो सपनाको लय सुनेँ ।
भुँररर उड्दै
दुस्मनकाे स्वर सुन्न
मुख्य मन्त्री निवासमा पुगेँ ।
म, छक्क परेँ ।
म, जिउँदो हुँदा भन्दा धेरै तर्सिएको देखेँ ।
हातमा डर मेट्ने, झोल ओखती समाएर
खासखुस गर्दै थिए ।
आफ्नो शासनको घडेरीमा
महाभुँइचालो आउने भयो भनेर
हातेफोनबाट
आफ्नो मालिकलाई दर्साउँदै थिए ।
उताबाट प्रभुको भरोसा आयो ।
खहरे हो, केही दिनमा सुक्छ ।
भ्यागुता हुन् पानी सुकेपछि
ट्यार ट्यार पनि सकिन्छ ।
मैले पनि फिस्स हाँसे ।
धेरै भोल्टेज भएछ क्यारे,
उसकाे निवासको बत्ती पड्कियो ।
एकछिन हिक्मत कार्कीको
दिमाग पनि सड्कियो ।
धेरै दिनपछि फ्रिजबाट निस्किनुपर्यो ।
हजारौं, लाखौंका मनहरूमा सर्नु पनि थियो ।
आमसंचार र सामाजिक संजालबाट
लाखौं, करोडौंका आँखामा
भित्र पस्नु पनि थियो ।
जब हजारौं सहयोद्धाहरूकाे साथमा
यात्रा गर्दै थिएँ ।
काँडेतारले बाटो छेक्नेहरूको विरुद्ध
आफैले आफैलाई आदेश दिएर
काडेतार हटायौ ।
दुस्मनकाे सयौं अश्रुग्यासका गोली पड्काएर
हजारौं योद्धाहरूलाई
पिरो कसम खुवाएका थिएँ ।
खुसीले गद्गद हुँदै म अहिले
आफ्नै सभ्यताको माटोमा सुतेको छु ।
अपार माया र सम्मानको बग्गी चढेर
रङ्गिचङ्गी फुलहरू ओढेर
तन सुते पनि
मन अर्थात् आत्मा
दुस्मनको पछि पछि कुँदिरहेको छ ।
प्रिय सहयोद्धाहरू
दुस्मनकाे मुलसातो मैले खाइसकेको छु ।
उसको मथिङ्गलमा
चर्को मुर्दावादकाे
छाप, ठोकिसकेको छु ।
तिम्रो आवाजले उसकाे कान पोल्ने छ ।
आगो बनेर सधैं सधैं
बाटो छेकिराख्नु
ऊ हिड्ने गौंडाहरूमा
पत्थरहरूले स्वागत सत्कार गर्नु ।
आवश्यक परेको बेला
बिराटनगर पनि झर्नु
मेरो चिहानमा छरेको मट्टी
प्रदेश संसद, मुख्यमन्त्री र मन्त्रालयतिर पनि छर्नु ।
– भद्रगोल किराती (मनोज कुमार राई)
सहिद लाजेहाङकाे शवयात्रामा सहभागी भएपछि लेखिएको कविता हाे याे ।


