याक्थुङ लिम्बू समुदाय र लिम्बुवान सम्बन्धी प्राज्ञिक अध्ययन अनुसन्धान गर्ने व्यक्तिहरूलाई प्रोत्साहित गर्नका लागि एक करोड रुपैयाँको ‘विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’ स्थापना गरिएको छ ।

ताप्लेजुङको हाङ्पाङ स्थायी घर भई हाल क्यानडामा बसोबास गरिरहेका विष्णुदत्त आङ्बुहाङ कोषदाता हुन् ।

विष्णुदत्त आङ्बुहाङ

लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगिराज इङ्नामका अनुसार आङ्बुहाङ परिवारले वि.सं २०७३ सालमै ५० लाख रुपैयाँ प्रदान गरेपछि कोष स्थापना गरिएको थियो ।

हाल आङ्बुहाङ परिवारले फेरि ५० लाख थपेर काेषकाे रकम एक करोड रुपैयाँ पुर्‍याएकाे हाे ।

उक्त कोषबाट वर्षेनी दुईजना महिला-पुरुष अध्येतालाई अनुसन्धानवृत्ति, एक अध्येतालाई विद्वतवृत्ति र प्रत्येक दुई वर्षमा एक कृतिलाई प्राज्ञिक पुरस्कार प्रदान गरिँदै आएको छ ।

किरात याक्थुङ चुम्लुङकाे एक विषयगत संस्थाको रूपमा रहेको लिम्बुवान अध्ययन केन्द्रले २०८०-८१ को ‘विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार २०८१’ पौवा सारताप पान्थर स्थायी घर भई ललितपुरकाे सुनाकोठीमा बसेर प्राज्ञिक कर्म गर्दै आएका स्व. कृष्णविक्रम नेम्बाङ लिखित तथा मुन्धुम एकेडेमीबाट प्रकाशित कृति ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’लाई एक लाख रुपैयाँसहित प्रमाण-पत्र प्रदान गरेको छ ।

उक्त पुरस्कार शनिबार ललितपुरमा एक कार्यक्रम गरी प्रदान गरिएको हो ।

सोही कार्यक्रममा विष्णुदत्त आङ्बुहाङले कोषमा ५० लाख रुपैयाँ थपेर एक करोड रुपैयाँ पुर्‍याएकाे घोषणा पनि गरेका थिए ।