कडा स्वभावका मेयरका रूपमा चिनिने धरानका हर्क साम्पाङ अन्ततः बहुभाषिक पाठशालाको हाताभित्रै प्रहरी चौकी निर्माण गर्न सहमत भएका छन्।
यससँगै उनले यसअघि लिएको अडानबाट पछि हटेका हुन्।
धरान–१६ नौलोबस्तीमा निर्माण गरिएको बहुभाषिक पाठशालाको परिसरमा प्रहरी चौकी बनाउनु नहुने भन्दै मेयर साम्पाङले त्यसका लागि अन्य स्थान रोज्नुपर्ने अडान लिएका थिए।
तर, अहिले उनी सोही परिसरभित्र छुट्टै कम्पाउन्ड बनाई प्रहरी चौकी निर्माण गर्न सहमत भएका हुन्।
वास्तवमा, सो ठाउँमा प्रहरी चौकी निर्माणको काम पहिल्यैदेखि सुरु भइसकेको थियो।
यसै वर्ष प्रदेश सरकारले प्रहरी चौकीका लागि आठ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि वडाअध्यक्षसहितको स्थानीयले निर्माण अघि बढाउन खोज्दा विवाद उत्पन्न भएको थियो।
उता, बहुभाषिक पाठशाला भने मेयर साम्पाङकै नेतृत्वमा करिब दुई वर्षको अवधिमा निर्माण सम्पन्न भइसकेको छ।
सो पाठशालाको कम्पाउन्ड निर्माण गरी ढोका थुनिएको थियो।
तर, मेयरले लगाएको ताला वडाअध्यक्ष र केही स्थानीयले फुटाएर प्रहरी चौकी निर्माण गर्नुपर्ने माग राखेपछि विवाद चुलिएको थियो।
मेयर साम्पाङले आफू प्रहरी चौकीको पक्षमा भए पनि स्कुल परिसरभित्र निर्माण गर्नु उपयुक्त नहुने भन्दै विकल्प खोज्नुपर्ने धारणा राख्दै आएका थिए।

तर, आइतबार मेयर साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिबीच छलफलपछि प्रहरी चौकी सोही स्थानमा निर्माण गर्ने सहमति भएको हो।
सहमतिको क्रममा मेयर साम्पाङले आगामी आर्थिक वर्ष २०८२/८३ मा ‘मेयर भिजन कोष’बाट थप १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यस सहमतिसँगै केही समयदेखि देखिएको मेयर र उपमेयरबीचको विवाद पनि अन्त्य हुने अपेक्षा गरिएको छ।
मेयरका सहयोगी सत्य गुरुङका अनुसार मुख्य विवाद बजेट बाँडफाँटका विषयमा हो भने डोर हाजिरी फाइलको प्रसंग केवल निहुँ मात्रै हो।
धरान उपमहानगरपालिका अझैसम्म आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गर्न सकेको छैन।
तर, बहुभाषिक पाठशालाको विवादमा सहमति जुटेपछि बजेट निर्माणका विषयमा पनि चाँडै सहमति बन्ने विश्वास गरिएको छ।
