आदिवासी अधिकारको पक्षमा सक्रिय रहँदै आएका गोविन्द छन्त्यालले श्रीमती शान्ति मानन्धरको थप उपचारका लागि आफन्त, साथीभाइ र शुभचिन्तकहरूसँग आर्थिक सहयोगको अपिल गरेका छन्।
छन्त्यालले बिहीबार ‘गोफन्डमी’मार्फत हालसम्मको उपचार विवरण सार्वजनिक गर्दै सहयोगका लागि आग्रह गरेका हुन्।
शिक्षिका रहेकी शान्ति मानन्धर डिम्बाशयको क्यान्सर (ओभेरियन क्यान्सर)सँग जुधिरहेकी छन्।
उनको उपचार भारतको दिल्लीस्थित ‘राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर’मा भइरहेको छ।
२०२४ अक्टोबरमा डाक्टरहरूले चौथो चरणको ओभेरियन क्यान्सर भएको पुष्टि गरेपछि तत्काल उपचार सुरु गरिएको थियो।
डाक्टरको सल्लाहअनुसार तीन चरणको किमोथेरापीपछि शल्यक्रिया (अप्रेशन) गरिएको र त्यसपछि पुनः किमोथेरापी दिइएको हो।
उपचार सुरु गरिएको ९ महिनाको अवधिमा मानन्धरको स्वास्थ्य सुधारोन्मुख छ।
तर, थप उपचार प्रक्रिया अझै ३ देखि ५ वर्षसम्म चल्नेछ। यस अवधिमा हरेक ६ देखि ६.६ महिनामा दिल्लीस्थित अस्पताल जानुपर्ने हुन्छ।
छन्त्यालले आगामी ७ जुलाई २०२५ मा फेरि दिल्ली जानुपर्ने बताउँदै, त्यहाँ विभिन्न परीक्षण र रिपोर्टको आधारमा थप उपचार तय गरिने जानकारी दिएका छन्।
हालसम्म उपचारका लागि २६ लाख रुपैयाँ खर्च भइसकेको छ।
जसमध्ये १६ लाख रुपैयाँ आफन्त, साथीभाइ र शुभचिन्तकहरूले सहयोगस्वरूप जुटाइदिएका हुन्।
अब बाँकी थप उपचारका लागि करिब ३० लाख रुपैयाँ आवश्यक परेकाले छन्यालले पुनः सहयोगको अपिल गरेका हुन्।
उनले लेखेका छन्, ‘शान्तिको अहिलेको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाको खर्चले हामीलाई आर्थिक रूपमा निकै ठूलो चुनौती दिएको छ। त्यसैले हामी तपाईंहरू सबै — हाम्रा साथीभाइ, परिवारजन, सहकर्मी र शुभचिन्तकहरूलाई यो कठिन घडीमा परिवारझैँ हातेमालो गर्दै यो विपत्तिलाई पार गर्न आर्थिक साथ दिनुहुन विनम्र अनुरोध गर्दछौं।’
