जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त समिति सार्वजनिक गरिएको हो।

समितिमा सुदन किराती, मदन भट्टराई, नारायणी शर्मा, मदन लिम्बु, भीमबहादुर मल्ल, सम्झना राई, गोरखबहादुर केसी, पुजन सिंह, जटिल कार्की, अरविन्द यादव, देविराम देवकोटा, लक्ष्मी गुरुङ र जन्मदेव जैसी छन्।

त्यस्तै प्रकाशचन्द्र पाण्डे, टेकेन्द्र भट्ट, राजु आलेमगर, दिपक साउद, सन्तोष विष्ट, पुष्प न्यौपाने, प्रेम तामाङ, डा. अच्युत भट्ट, यज्ञबल्लभ शर्मा, विमला सिंह, क्षितिज सापकोटा, निर्मला गौतम र बाबुराम नेपाली पनि सदस्य रहेका छन्।

कार्यक्रममा जनार्दन शर्मा स्वयं उपस्थित भएनन्।

पूर्वमन्त्री सुदन किरातीले केन्द्रीय समितिको नामावलीसहित अपिल–पत्र वाचन गरेका थिए।

अपिल–पत्रमा भनिएको छ, “गत एक सय वर्षयता चलेका जनसंघर्षका उपलब्धिहरू आम नागरिकको जीवनमा रूपान्तरण हुन नसक्दा चौतर्फी निराशा, आक्रोश र अन्याय बढेको छ। भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणकै कारण ‘जेनजी विद्रोह’ भएको स्पष्ट छ।”

पत्रमा थप भनिएको छ, “युवाहरूको आन्दोलनको समयमा हेलिकोप्टर चढेर भागेका र ब्यारेकमा लुक्न बाध्य भएका असफल तथा अहंकारी नेताहरूले पुरानै शैलीमा हुंकार गर्न थालेको दृश्यले जनतालाई पुनः आक्रोशित बनाउँदैछ। आगामी दिनमा नागरिकको आक्रोश सम्बोधन गर्न सकिएन भने याे विद्राेह पुनः नयाँ स्वरूपमा प्रकट हुने निश्चित छ।”

देशलाई भ्रष्टाचार र बेथितिको दलदलमा फसाउने नैतिकताहीन र अहंकारी नेताहरूलाई आगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्नुपर्ने उल्लेख गर्दै, राजनीतिक समस्याको दीर्घकालीन तथा अल्पकालीन समाधानका लागि प्रगतिशील शक्ति निर्माणमा एकजुट हुन अपिल गरिएको छ।

अपिल-पत्रमा भनिएको छ, “हामी नेपाली राजनीतिका असफलताका कारणहरूको पहिचान गरी तिनलाई दोहोरिन नदिने र नेपालका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा रूपान्तरणका लागि ‘नेपाली समाजवादको रोडम्याप’ तयार पार्दै जनचाहनाअनुसार नयाँ पार्टी निर्माण गर्नेछौँ।”