मुन्दुम ज्ञान प्रणालीबारे विमर्श गर्दै छैटौं किरात राई प्राज्ञिक सङ्गोष्ठी–२०८२ सम्पन्न भएको छ।
चैत २० र २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सम्पन्न सङ्गोष्ठीको अन्त्यमा तीन बुँदे ‘यलाखोम (काठमाडौं) मुन्दुम प्राज्ञिक सङ्गोष्ठी घोषणापत्र–२०८२’ जारी गरिएको छ।
घोषणापत्रमार्फत किराती समाजमा हजारौं वर्षदेखि जीवन्त रहँदै आएको र मौखिक रूपमा हस्तान्तरण हुँदै आएको सामूहिक पुख्र्यौली ज्ञानले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको मौलिक बौद्धिक प्रतिनिधित्व गर्न सक्ने उल्लेख गर्दै मुन्दुम ज्ञान प्रणालीलाई UNESCO को अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गर्न माग गरिएको छ।
त्यसैगरी राजनीतिक, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय पक्षसँग सम्बन्धित मुन्दुम तथा मौलिक आदिवासी ज्ञान प्रणालीलाई आधार बनाएर मात्र ‘नेपाली समाजवाद’को निर्माण र विकास सम्भव हुने धारणा पनि घोषणापत्रले स्पष्ट पारेको छ।

मुन्दुम ज्ञान प्रणालीसम्बन्धी पठनपाठनका लागि विद्यालय तथा विश्वविद्यालय स्थापना गर्न र सरकारी शैक्षिक संस्थाहरूमा समेत यसको अध्ययन–अध्यापनको व्यवस्था मिलाउन आग्रह गरिएको छ।
किरात राई प्रज्ञा परिषद्द्वारा आयोजित उक्त सङ्गोष्ठीमा मुन्दुम दर्शन, साकेला, मुन्दुमको विश्वदृष्टिकोण र विऔपनिवेशीकरण, सृष्टि वर्णन, उपचार पद्धति र न्याय प्रणाली, सुप्तुलुङ परिवार र लैङ्गिक समानता, मानवभाषाशास्त्र र मुन्दुम शब्द, बसाइँसराइ, यात्रा वर्णन तथा अनुष्ठानजस्ता विषयमा विज्ञहरूद्वारा २३ वटा कार्यपत्र प्रस्तुत तथा छलफल गरिएको थियो।

सङ्गोष्ठीको उद्घाटन समारोहको अध्यक्षता डा. नोवलकिशोर राईले गरेका थिए भने मौखिक ज्ञान प्रणाली र मुन्दुमबारे डा. अभि सुवेदीले विद्वत प्रवचन दिएका थिए।



साल्पा अनलाइनका रिल्स

