किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले विजयपुरबाट चिन्डो उखेलेर फालिएको घटनाप्रति घोर आपत्ति जनाएका छन्।
‘विजयपुरगढी किरातहरूको ऐतिहासिक दरबार हो। यो नेपालको सम्पत्ति हो, सारा नेपाली नागरिकको हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो पुरातात्विक महत्वको क्षेत्रलाई उहिले हाम्रो पो थियो रे भनेर कब्जा गर्ने विस्तारवादको नयाँ अनुहारलाई खबरदार छ। यो साम्राज्यवादको मनसाय पनि हो। यसको जति निन्दा गरे पनि कमै हुन्छ।’
उनले चिन्डो उखेलेर फाल्ने कार्यमा साम्प्रदायिक द्वन्द्व भड्काउन चाहने केही अतिवादी अगुवाहरू जिम्मेवार रहेको पनि उल्लेख गरेका छन्।
‘म उनीहरूको यस कुकार्यको पनि घोर निन्दा गर्दछु। डकैती शैलीमा उखेलेर फालिएको घटनाको राज्यले छानबिन गरोस् र यस्ता पृथकतावादीहरूलाई अविलम्ब कारबाही होस्,’ उनले लेखेका छन्।

विजयपुरमा करिब चार वर्षअघि नै चिन्डोको प्रतीक राखिएको थियो।
तर केही हप्ताअघि आफूलाई लिम्बुवान पक्षधर बताउने केही अगुवाले उक्त स्थानमा चिन्डो राख्नु लिम्बु समुदायमाथिको अतिक्रमण भएको दाबी गर्दै त्यसलाई तत्काल हटाउनुपर्ने बताएका थिए। त्यसयता विवाद थप चर्किएको हो।
उक्त क्षेत्रलाई राई, लिम्बु, याक्खा तथा अन्य किराती समुदायले साझा ऐतिहासिक सम्पदाका रूपमा लिँदै आएका थिए।
तर पछिल्लो समय केही लिम्बुवान पक्षधरहरूले विजयपुर आफूहरूको मात्रै ऐतिहासिक क्षेत्र भएको दाबी गर्दै, राई समुदायले प्रयोग गर्ने चिन्डो उक्त स्थानबाट हटाउन माग गर्दै आएका थिए।
किरात याक्थुङ चुम्लुङका पूर्वअध्यक्ष प्रेम येक्तेनले पनि चिन्डो राख्नु अतिक्रमण भएकाले हटाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए।


