श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धर्मनिरपेक्षताविरुद्ध हुने कुनै पनि संवाद वा सहमति स्वीकार्य नहुने चेतावनी दिएका छन्।
‘गृहमन्त्री सुदन गुरुङले संयुक्त हिन्दु मोर्चासँग नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने विषयमा सर्वदलीय छलफल अघि बढाउने सहमति गरेको’ भन्ने समाचार सार्वजनिक भएलगत्तै अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले गरेको उक्त सहमति आफूहरूले नमान्ने स्पष्ट पारेका हुन्।
संयुक्त हिन्दु मोर्चा र गृहमन्त्री गुरुङबीच शनिबार १३ बुँदे सहमति भएको भन्दै केही अनलाइन मिडियाले समाचार प्रकाशित गरेका छन्।


तर संयुक्त हिन्दु मोर्चाले गृहमन्त्री गुरुङसमक्ष १३ बुँदे मागपत्र बुझाएको कुरा मोर्चाको लेटरहेडमै देखिन्छ।
मागपत्रको पहिलो बुँदामा अलग पहिचान र परम्परा भएका किरात र बौद्ध धर्मलाई समेत हिन्दु मानेर नेपालमा कुल ८१ प्रतिशत हिन्दु रहेको दाबी गर्दै ‘नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय बैठक अघि बढाउने’ उल्लेख गरिएको छ।


अध्यक्ष साम्पाङले फेसबुकमा लेखेका छन्, ‘गृहमन्त्रीले गरेको सम्झौता हामी मान्दैनौँ। विशेष गरी धर्मनिरपेक्षताको विरुद्धमा हुने कुनै पनि संवाद वा सहमतिको कुनै अर्थ छैन।’

लगत्तै उनले अर्को स्टाटसमा लेखेका छन्, ‘धार्मिक सहिष्णुता र धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्ष नेपाल नै सबैभन्दा उत्तम हो। यो देशमा जातीय तथा धार्मिक लडाइँ गर्न वा गराउन खोज्नेहरूले जे पायो त्यही मागेर पाउँदैनन्। मन्दिर नआइज भन्नेहरूले आफ्नै धर्म अरूमाथि लाद्ने प्रयत्न गर्ने खतरा बढ्न सक्छ। सबै सचेत र सजग रहन अनुरोध छ। विशाल नेपालमा बहुल जाति, भाषा, धर्म र संस्कृति छन् भन्ने कुरा कसैले पनि नभुलौँ।’
