बायुङ राईको मुन्दुम र मातृभाषामा आधारित गीत सार्वजनिक

किरात बायुङ राई सुम्निखिम (किबारासु) को प्रस्तुतिमा बायुङ राई समुदायको मौलिक पहिचान, मुन्दुमी दर्शन, संस्कार, संस्कृति, भाषा र जीवनशैली समेटिएको ‘बायुङ राई’ सलङ (गीत) को स्टुडियो भिडियो सार्वजनिक भएको छ।

बायुङ राई समुदायको मौखिक परम्परामा आधारित अलिखित तुम्लो (मुन्दुम) दर्शन तथा समुदायका विविध सांस्कृतिक पक्षलाई समेटेर तयार पारिएको गीतको रचना, लय संयोजन र संगीत किशोर बायुङ राईले गरेका हुन्।

गीत निर्माणका क्रममा संगीतकार, गायक तथा संगीत प्रशिक्षक मण्डल साम्पाङले आवश्यक पथप्रदर्शन तथा सांगीतिक सहयोग गरेका थिए। गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ योगेन मुकारुङले गरेका हुन्।

गीतको स्टुडियो भिडियो सार्वजनिक कार्यक्रममा करिब ५० जना बायुङ राई समुदायका व्यक्तिहरूको उपस्थिति थियो।

गीत निर्माण समितिका संयोजक प्रवेश बायुङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात बायुङ राई सुम्निखिमकी उपाध्यक्ष प्रेम कुमारी बायुङ राईले स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रममा गीतका सर्जक किशोर बायुङ राईले गीतमा समेटिएको तुम्लो (मुन्दुमी) दर्शन र यसका विभिन्न पक्षबारे प्रस्ट पारेका थिए।

कार्यक्रममा मन्तव्य राख्दै किरात बायुङ राई सुम्निखिमका कानुनी सल्लाहकारले गीतलाई बायुङ राई समुदायको मौलिक पहिचान स्थापित गर्ने बलियो आधार तथा दस्तावेजका रूपमा व्याख्या गरे। जिमी (राई) उत्थान समाजका केन्द्रीय अध्यक्ष यसबहादुर राईले सुम्निखिमको यस कार्यलाई महत्त्वपूर्ण कदम बताए।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि एवं किरात बायुङ राई सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञानबहादुर बायुङ राईले गीतले बायुङ राई समुदायको मौलिकता, मुन्दुमी इतिहास, पहिचान, संस्कार, संस्कृति र जीवनशैलीका पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए।

बायुङ राई समुदायकी कलाकार अनुषा बायुङ राईले गीतले समुदायको मौलिक संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण आधार तयार पारेको बताइन्। संस्थाका सल्लाहकार महेश किरातीले स्टुडियो भिडियो सार्वजनिक भइसकेकाले अब आधिकारिक भिडियो निर्माणका लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

गीत सार्वजनिक कार्यक्रमका लागि महेश किराती, ज्योति बायुङ राई, अजय हाङ बायुङ राई तथा हाङ आर्टस्, नैनाकला राई, वास्तव कुमार राई, डोल्मा गुरुङ, नन्दराज राई र नरभक्त बायुङ राईले आर्थिक सहयोग गरेका थिए।

गीतमा शान्ति बायुङ राई, रोकेमि बायुङ राई, सम्पदा थुलुङ राई, यमुना बायुङ राई, ज्ञान कुमारी बायुङ राई (प्रकृति), दिनेश बायुङ राई, आइकुमार बायुङ राई, कर्ण बायुङ राई, रविन बायुङ राई र किशोर बायुङ राईको स्वर रहेको छ।

भिडियोग्राफीमा प्रवेश बायुङ राई र प्रदीप बायुङ राई रहेका छन् भने सम्पादन तथा डिजाइन प्रवेश बायुङ राईले गरेका हुन्। गीत निर्माण व्यवस्थापन जितेन बायुङ राई, प्रेम कुमारी बायुङ राई तथा शोभा थुलुङ–बायुङ राईले गरेका छन्।

किरात बायुङ राई सुम्निखिमद्वारा उत्पादन तथा निर्माण गरिएको गीत संस्थाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्