जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रविरोधीको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भइरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीतिर इंगित गर्दै यो कुरा बताएका हुन् ।
उनले गणतन्त्र दिवसका दिन (जेठ १५ गते) अर्थात आज बिहान ट्वीट गर्दै गणतन्त्र दिवसको शुभकामना समेत दिएका छन् ।
उनले लेखेका छन्, ‘गणतन्त्रविरोधी बयलगाडेहरुको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भइरहेको छ, त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौं ।’
प्रधानमन्त्री ओलीलाई गणतन्त्रविरोधीको रुपमा लिइने गरिएको छ ।
नेपालमा २०६३ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन भइरहेको बेला उनले गणतन्त्रविरोधी अभिव्यक्ति दिएका थिए ।
उनी ‘बयलगाडामा चढेर अमेरिका पुगिन्न’ भन्दै गणतन्त्र असम्भव रहेको अभिव्यक्ति दिएका थिए ।
नेपाली जनताको बलिदानी संघर्षबाट प्राप्त ऐतिहासिक गणतन्त्र दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! गणतन्त्रबिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको छ त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौं!
— Baburam Bhattarai (@brb1954) May 29, 2021