किरात याक्थुङ चुम्लुङले ‘किरात सिरिजङ्गा लिपि’लाई साझा रुपमा लेखन पद्धतिमा प्रयोग हुने अभियानलाई सकारात्मक रुपमा लिन आग्रह गरेको छ ।
चुम्लुङका अध्यक्ष योगराज लिम्बूले हिजो एक प्रेस विज्ञप्ति जारी गरी किरात सिरिजङ्गा लिपि लिम्बूबाहेक राई, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेल, हायूलगायत समुदायमा पनि प्रचलित हुने अवस्था बनेकोमा त्यसलाई सकारात्मक रुपमा ग्रहण गर्न आग्रह गरेका हुन् ।
चुम्लुङसहित चार किरात संस्था रहेको किरात समन्वय समितिले गत माघ १ गते किरात यले संवत्को अवसरमा किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
समितिले नेपालका सबै किराती भाषाहरुलाई समेट्ने गरी लिपि समायोजन गर्ने र सबैले लेखन पद्धतिमा ल्याउने गरी भाषाशास्त्री डा. तारामणि राई संयोजक रहेको कार्यदल बनाएको थियो ।
चारै किरात संस्थाका प्रतिनिधि रहेको उक्त कार्यदलले करिब तीन महिना अध्ययन तथा अनुसन्धान गरी ४८ वटा व्यञ्जन र १२ वटा स्वर वर्ण रहेको किरात सिरिजङ्गा लिपिकाे प्रस्तावित संयुक्त वर्णमाला तयार पारेको थियो ।
समितिले उक्त प्रतिवेदन सार्वजनिक गरेपछि लिम्बू समुदायमा विवाद पैदा भएको छ ।
चुम्लुङको विरोध गर्ने नाममा र कार्यदलमा रहेकाहरुलाई पनि सामाजिक सञ्जालबाट नैतिकता र शिष्टाचारविरोधी, घृणा र द्वेष फैलाउने काम भइरहेको भन्दै चुम्लुङले सोको घोर निन्दा गरेको छ ।
चुम्लुङले कार्यदलले सार्वजनिक गरेको प्रतिवेदन पढ्दैनपढी संस्था र व्यक्तिहरुप्रति अतिपूर्वाग्रह राखी भ्रमपूर्ण टिकाटिप्पणी गर्ने र लिपि जलाउने काम गरिएकोलाई गम्भीरतापूर्वक लिइएको जनाएको छ ।
स्मरण रहाेस्, चुम्लुङले २०५० सालदेखि नै औपचारिक रुपमा ‘किरात सिरिजङ्गा लिपि’ भनेर प्रयोग गर्दै आएको थियो ।
हाल सोही नाम राखेर नेपालमा बोलिने करिब तीन दर्जन किराती भाषाहरु लेखन गर्न सकिने गरी लिपि समायोजन गरिएपछि लिपिको नाम परिवर्तन गरिएको, लिपि तोडमोड गरिएको लगायत आरोप लगाउँदै विरोध गरिएको हो ।



