प्रदेश १ को नाम शेर्पा समुदायलाई समेत समेटेर ‘शेर्पा–किरात–लिम्बुवान–मधेश प्रदेश’ राख्न माग गरिएको छ ।

बिहीबार नेपाल शेर्पा संघले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेर ज्ञापन पत्र बुझाउँदै शेर्पा–किरात–लिम्बुवान–मधेश प्रदेश नामकरण गर्न माग गरेको हो ।

ज्ञापन पत्रमा प्रदेशको नाममा शेर्पा जोड्नुपर्ने पाँच आधार उल्लेख गरिएको छ ।

ती आधारहरुमा पहिलो संविधानसभामा राज्यपुनरसंरचना समितिद्वारा प्रस्तावित १४ प्रदेशमा शेर्पालुङ समेत रहेको,

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सोलुखुम्बुको सल्लेरीमा आयोजित कार्यक्रममा शेर्पालुङ प्रदेश घोषणा गरिएको,

शेर्पा समुदायको ऐतिहासिक थातथलोलाई प्रदेश १ र बागमती प्रदेशमा खण्डित गरेकोमा असहमति प्रकट गरेको लगायत छन् ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले आफू पहिचानसहितको संघीयताको पक्षमा रहेको बताए ।

संघका अध्यक्ष तथा शेर्पालुङ संघर्ष समितिका संयोजक गेल्जे लामा शेर्पा नेतृत्वको टोलीले मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएको हो ।