हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसी गढीको बारेमा लेखिएको पुस्तक ‘होलैसुङ र हलेसी गढी’ र वृत्तचित्र ‘हलेसी गढी’ सार्वजनिक गरिएको छ ।
हिजो नगरपालिकाकै सभाहलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख विमला राई र उपप्रमुख रमेश राउतले उक्त पुस्तक र वृत्तचित्र सार्वजनिक गरेका हुन् ।
हलेसी गढीको इतिहासलाई अभिलेखीकरण र संरक्षण गर्ने उदेश्यका साथ हलेसी गढी संरक्षण कार्यदलले पुस्तक र वृत्तचित्र तयार पारेको हो । जसमा नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।
मुन्दुम अध्येता भोगीराज चाम्लिङले संयोजन गरेको उक्त पुस्तक नेपाली, चाम्लिङ र अंग्रेजी भाषामा छ ।
स्थानीय विज्ञ, संस्कृतिविद् र इतिहासका जानकारहरुसँगको कुराकानीको आधारमा पुस्तक तयार पारिएको हो ।
वृत्तचित्र चाहिँ पत्रकार दीपेन्द्र राईको लेखन तथा निर्देशनमा तयार पारिएको हो ।
कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार भूपाल राई, किरात राई यायोक्खाका पूर्वअध्यक्ष चतुरभक्त राई, डा. धनप्रसाद सुवेदी, डा. भक्त राई, लेखक चन्द्रकुमार हतुवाली, संस्कृतिविद शालिक सताशक र विभिन्न पार्टीका स्थानीय नेताहरुको उपस्थिति थियो ।