खोटाङमा ब्रान्डिङ गरिएको ‘कोदोको तीनपाने रक्सी’ बिक्री सुरु

हलेसी आउने तीर्थयात्री तथा पर्यटकलाई आकर्षित गर्न होमस्टे सञ्चालन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ब्रान्डिङ गरेको ‘कोदोको तीनपाने रक्सी’को औपचारिक बिक्री वितरण शनिबार (१८ जुलाई) देखि सुरु गरिएको छ।

रक्सीको मूल्य एक हजार मिलिलिटरको ९१० रुपैयाँ, पाँच सय मिलिलिटरको ५०० रुपैयाँ र दुई सय पचास मिलिलिटरको २५० रुपैयाँ तोकिएको छ।

यसमा ४५ देखि ५० प्रतिशतसम्म अल्कोहल रहेको छ।

हालका लागि भने हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान ऐसेलुखर्कस्थित ‘चाम्लिङ सामुदायिक होमस्टे’मा मात्र कोदोको तीनपाने रक्सी उपलब्ध हुनेछ।

उक्त होमस्टेको पनि शनिबार नै उद्घाटन गरिएको हो।

हलेसी महादेवको दर्शन गर्न आउने तीर्थयात्री तथा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको हो।

होमस्टेमा लोकल चामलको भात, लोकल कुखुराको मासु, ढिँडो, गुन्द्रुकको अचारलगायत अर्गानिक परिकार उपलब्ध हुनेछन्।

हाल होमस्टेमा एकैपटक ४० जनासम्म बस्न सक्ने व्यवस्था गरिएको छ।

होमस्टेको उद्घाटन गर्दै नगरपालिकाकी मेयर विमला राईले चाम्लिङ राई समुदायको संस्कारसँग जोडिएको कोदोको रक्सीलाई व्यवस्थित र मर्यादित बनाउँदै आम्दानीसँग जोड्ने उद्देश्यले ब्रान्डिङ गरिएको बताइन्।

कोदोको रक्सी बिक्री गर्ने विषयमा अहिले पनि कानुनी पक्ष अनुकूल नरहेको उल्लेख गर्दै उनले भनिन्, ‘अहिले पनि हामीसँग अनुकूल कानुन छैन। तर पनि हामीले हाम्रो संस्कारलाई व्यवस्थित र मर्यादित बनाउँदै आम्दानीसँग जोड्न नगरपालिकाले हिम्मत गरेका छौं।’

उनले स्थानीय समुदायको आर्थिक विकासका लागि नगरपालिकाले २ करोड रुपैयाँ विनियोजन गरेर होमस्टे सञ्चालनमा ल्याएको बताइन्।

उनले भनिन्, ‘हामीले खर्च गरेको बजेटको उपलब्धि आउन थालेको छ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्