तपाईंको नजिकै आएर
नमस्कार गर्न मन थियो ।
मेरो आमाको पसिनाले, किनेको पेस्तोल
कम्बरमा भिरेर, हवल्दार साब
ढोकामै ठिङ्ग उभिनु भएको छ ।
गार्डको बुट र पोसाक
खाँडीको पसिनाले बनेको देख्छु ।
तपाईंको कुर्सी र टेबुलको खुट्टा
गाउँलेको, नलिखुट्टो र करङ बिच
केही भिन्नता देख्दिनँ ।
तपाईंको शरीरमा लगाएको दौरा(सुरुवाल
नेचा सल्यानमा बुनेको तानको हो ।
शिरको, अल्लोको टोपी, आङको कोट
महाकुलुङको मेहनत हो ।
न्यानो मोजा र जुत्ता आफ्नो नठान्नुस्
हिमालका शेर्पाहरुले
ज्यानसँग साटेका रोयल्टी हुन् ।
शरीर तताउन हिटर बाल्नुभएको छ ।
जनताकै पसिना र रगतले
बिजुलीको टरवाईन
घुमाएर उत्पादन भएका करेन्ट हुन् ।
तातो आँगो, चोक चोकमा बाल्न
आदेश गर्नुभएछ ।
ती दाउरा पनि
आरनमा बनेका, बन्चरो र खुकुरीहरुले
राष्ट्रिय फूल लालीगुराँसलाई
लास बनाएर जलाएको मात्रै हो ।
बाँस, निगाला र चोयाको छाला काँडेर
तन्काएर बुनेको डोकोमा
देउसा, सोताङ, काकुका सुन्तला आएपछि
बिस्तारै केलाउँदै, घाममा बसेर
केस्रा केस्रा स्वाद मान्नुहुन्छ ।
तिनै माटोका जनताले
निवेदनमा, अनुहार टाँसेर आउँदा
लगाएको ल्याप्चेलाई, किर्ते देख्नुहुन्छ ।
समस्याले बुढीऔंठा, खाइदिएको देख्नुहुन्न ?
हिउँको चिसोले खाएको
औंलाका रेखाहरु खिएको देख्नु हुन्न ?
जनैमा झुन्डिएको, तपाईंको आदेशले
निमेष भरमै, जनताको सातो खाँदैछ ।
नागरिकता नामको तमसुक
पहिचानपत्र, पाउनबाट बन्चित हुँदैछन् ।
के हिजो जवानी नभनी
ज्यान फालेका सयौं, हजारौं
सहिदको सपना
यस्तै असहजताका लागि थियो ?
तपाईंको कार्यकक्षको
जगमा गएर
माटो समातेर सुङग्नुस
रुघाखोकी लागेको छैन भने
आलै रगतको, बासना आउनेछ ।
ती रगतहरुलाई पढ्नुस् ।
तिनका परिवार
आफन्त र छिमेकलाई सोध्नुस् ?
बेपत्ता परिवारलाई सोध्नुस् ?
सिडियो गरिब घरको जेठो छोरा हो कि ?
तिनलाई शासन गर्ने बडाहाकिम ?