बाढीले लघुजलविद्युत्‌ आयोजना बगायो

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोलामा आएको बाढीले दोस्रो दरखोला लघुजलविद्युत् आयोजना बगाएको छ ।

४२ किलोवाट क्षमताको उक्त आयोजनाको आइतबार राति आएको बाढीले नहर तथा पावरहाउस सबै बगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले गएराति आएको बाढीले आयोजना बगाएको जानकारी दिए ।

‘बाढीले जलविद्युत आयोजना डुवाएको भनेर गाउँपालिकाका अध्यक्षले खबर गर्नु भएको छ, प्रहरी टाली पठाएइको छ,’ गुरुङले भने, ‘प्रहरी पुगेपछि विस्तृत जानकारी आउला ।’

गाउँपालिका अध्यक्ष थमसरा पुनका अनुसार वैकल्पिक ऊर्जाको ८६ लाख, गाउँपालिकाको ६० लाख र बाँकी स्थानीय श्रमदान गरी १ करोड ५२ लाख लागतमा दुई वर्षअघि मात्र लघुजलविद्युत् आयोजना निर्माण भएको थियो ।

८ वर्षअघि पनि सोही खोलाको बाढीले लम्सुङ बस्ती नजिकको परियोजना पूर्ण रूपमा बगाएपछि पुनस् एक किलोमिटर माथि सारिएको थियो ।

बाढीले नहर तथा पावरहाउस बगाएपछि दुर्गम बस्ती लुलाङका ३ सय ७८ घरधुरी अन्धकार भएको बताइन् ।

Please enter your comment!
Please enter your name here