काठमाडौँ महानगरपालिकाले विद्यालयस्तरमा नेपालभाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ । जम्मा ५१६ आवेदकमध्ये छनोट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकसँग महानगरले एक वर्षका लागि सम्झौता गरेको हो ।
अहिले सम्झौता गरिएका सबै शिक्षकलाई आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन सामुदायिक विद्यालयमा खटाइने बताइएको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्य रूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप महानगरले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राखेको हो ।
सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरिएको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ । महानगरपालिकाका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२ शिक्षक महानगरले आफ्नै स्रोतसाधनबाट राखेको हो । यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहनेछ ।
यसै शैक्षिकसत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको सो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक, विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीनसम्म शिक्षक राख्ने महानगरपालिकाको तयारी छ । हाल विश्वभरि फैलिएको कारोनाका कारण भौतिक उपस्थितिमा भने कक्षा सञ्चालन हुन सकेको छैन ।
नेपालमा लिच्छवीकालबाटै नेपाल भाषाकोे प्रयोग हुन थालेको भए पनि मल्लकालमा यस भाषालाई राजकीय भाषाका रूपमा प्रयोग गरिएको नेपाल भाषा केन्द्रीय विभागका प्राध्यापक शरदवीर कंशाकार बताउनुहुन्छ । पछिल्लो समय काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला र वाग्मती प्रदेशका १२ जिल्लामा यस भाषाको प्रयोग हुने गरेको प्राध्यापक कंशाकारको भनाइ छ ।
कामपाले स्थानीय पाठ्यपुस्तक नै बनाएर अनिवार्यरूपमा पठनपाठनको तयारी गर्नु उल्लेखनीय काम भएको उहाँको भनाइ छ । पठनपाठनमा यस विषयलाई छनोट गर्नुले नेवार समुदायमा रहेका संस्कार, संस्कृतिका बारेमा जानकारी लिन नयाँपुस्तालाई ठूलो सयोग पुग्ने प्राध्यापक कंशाकारले बताउनुभयो ।
स्थानीय पाठ्यपुस्तक तयार
कामपाले आधारभूत कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ । अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ । यसै शैक्षिकसत्रदेखि महानगरमा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागू गर्नेगरी पाठ्यपुस्तक तयार गरिएको हो । अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ ।
नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । त्यसअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफँैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका आधारमा महानगरले सो पाठ्यपुस्तक तयार गरेको हो ।
कामपाले गत वैशाख/जेठदेखि तयारी शुरु गरेको थियो । कोभिड–१९ र त्यसको असरबाट उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायतका काममा ढिलाइ भएको थियो । पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा तथा लिपिजस्ता विषय समेटिएका छन् ।
त्यसैगरी प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । पुस्तकमा नेपाल भाषाका शब्द र पदावलीको अर्थ नेपाली भाषामै लेखिएको छ । कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् ।
नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव एवं शिक्षा अधिकृत मोती खनालका अनुसार संस्थागत विद्यालयका नेपाल भाषा अध्यापन गराउन ८० जनालाई प्रशिक्षण दिइसकिएको छ । सामुदायिक विद्यालयमा पाठ्यक्रम र पाठ्यपुस्तक दुवै निःशुल्क वितरण गरिनेछ भने संस्थागत विद्यालयलाई पाठ्यक्रम निःशुल्क दिइनेछ । उनीहरुले पाठ्यपुस्तक खरीद गरेर लिनुपर्नेछ । कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन गरिनेछ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ प्रतिशत सैद्धान्तिक पठनपाठन हुनेछ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० प्रतिशत सैद्धान्तिक पठनपाठन हुनेछ । रासस