Monday, November 28, 2022
10.6 C
Diktel

इतिहासः नेपाल एकीकरण अभियानमा घमन्ड राईलाई पृथ्वीनारायण शाहको पत्र

Subtitle

–गणेशकुमार राई –शुभराज राई (काजी)
–दीपकबहादुर राई –जन्ताराम राई

नेपाल एकीकरण (भौगोलिक एकीकरण) अभियानमा ओल्लो किरात ओखलढुंगा क्षेत्र कसरी कब्जामा लिइएको थियो ? सवालको छिनोफानो गरिहाल्न गाह्रो छ । तर, पछिल्लो पटक अध्ययन अनुसन्धानका क्रममा एक प्रमाण फेला परेको छ । त्यो हो– नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले वि.सं. १८२९ मा घमन्ड राईलाई सम्बोधन गरी लेखेकाे पत्र ।

वि.सं. १८२९ मा पृथ्वीनारायण शाहले घमन्ड राईलाई लेखेको पत्रको अभिलेख व्यहोरा यस प्रकार रहेको छः
स्वस्ति श्री गिरिराज चक्रचुडामनि नर नरायेणे तादि विविध विरुदावलि विराजमान मांनोंन्त त श्री मंन्महाराजधिराज श्रीश्रीश्री महाराज्यें पृथिनाराऐण साहा बहादुर संम्सेर जंंङ देव नाम् सदा सय र विजऐ नांम ।। ।। ।। ।।
स्वस्ति श्री घमंन्ड राइके आगिये पुर्वक पत्रमि हां ईहा कुसल ताहा कुसल चाहिये आग्या येंहाको समचार भलो छ उप्रांन्त तिमि भनेका तेस् घरका भला मानिस् हौ तिमिहरुलाई अघि पनि पिछा लियैको थियो आज पनि हाम्रा बनाउनामा तिमि ता हामिलाई आउ भनि मर्जि भयाका नादानाको र पिछाको मोहोर वक्सन हवोस् ताहि तिमिहरु ता ताहि बस काजका दिन हामि मानिस् पठाउला उस् दिन तिमिहरुंले काज पुगाया भनि मर्जि भया सोहि माफिक गरौला भनि विंन्ति गरि पठायाछौ सबै विस्तार अभीमां नगरुंं ले हांम्रा हजुरमा विंन्ति ग¥यौ सुनौ बहुत षुसि भञुँ त्यो काज हामिले गर्नै आटेको थीयो तिमि हांम्रा सवक् भयो तिमिलाई हामिले पिछालिञुँ तिमि ताहि बस हामिले काज उठाउदा तिमिहरुले हामिलाइ मानि जगह हामिलाई सो पत्र हामिसग जुझ्न आउनेलाई हांन्न येहि ठेकाना भयो तिमिलाई इमांन मर्जेदा संग उचोतिषो गरि राषौला केहि संदेह नमानि यो काज गर
सम्वत् १८२९ चयेत्र सुदि १३ रोज २ मुकाम कांतिपुर राजधानि सुभम्

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ५ उदैपुर गाउँस्थित मुखिया तथा जिम्मावाल परिवारका साथमा रहेका अभिलेखहरू अध्ययन अनुसन्धान गर्ने क्रममा उक्त ऐतिहासिक पत्र फेलापरेको हो । कर्णबहादुर राई (म्याउरा) को घरमा कागजात दस्तावेज सुरक्षित रहेको पाइएको छ । निज कर्णबहादुर राई मुखिया सनमानको पनाति, अबिरमानको नाति, डिकवर्न राईको कान्छो छोरा र मुखिया पन्चध्वज राईको पनि नाति हुन् । मुखिया पन्चध्वज राई र हिलेपानी तर्फका सौतेनी वंशज दाजुभाइसँग पगरी मुद्दा परेको थियो । सो मुद्दा अवधिभरि मुखिया पन्चध्वज राईको हातकलम निलम्बन भएको थियो । त्यति बेला सनमानका साहिंली श्रीमती तर्फका छोरा अविरमानको जेठी श्रीमती तर्फका साहिंला छोरा डिकवर्न राईले काका पन्चध्वजको नामबाट नायवी मुखियाको जिम्मेवारी सम्हालेका थिए । सो कार्यावधिका कागजातहरू डिकवर्न राईको घरमा रहेको थियो ।

घमन्ड राई संक्षिप्त परिचय

नेपाल एकीकरण अभियानका क्रममा माथि उल्लेखित व्यहोराको पत्र राजा पृथ्वीनारायण शाहले लेखेका हुन् । सो पत्रका व्यहोराअनुसार घमन्ड राई एक ऐतिहासिक पुरुष रहेको प्रमाणित भएको छ । विक्रमाब्ध १८औं शताब्दी पूर्वाद्र्धका एक शासक थिए भन्ने बुझिन्छ । नेपाल एकीकरणपूर्व ओल्लो किरात क्षेत्रका एक प्रान्तीय शासकमध्ये एक थिए । नेपाल एकीकरण अभियानविरुद्ध चुनौती दिने एक शासक थिए । जनश्रुतिअनुसार घमन्ड राई राजा थिए । सुरुमा उनले केन्द्रीय शासन सत्ता स्विकार गरेका थिएनन् । गोरखाली सेनासँग पटक पटकको संघर्षपछि अन्ततः सम्झौता गरेका थिए ।

शासक घमन्ड राजकीय प्रशासनिक केन्द्र हालको मानेभन्ज्याङ गाउँपालिका वडा नं.५ मा रहेको मानेभन्ज्याङको माथिल्लो टुँडिखेल पटाँगी रहेको थियो । हाल भगवती माध्यमिक विद्यालय परिसर पश्चिम खानेपानी धारो तथा ट्याँकी सँगैको गोलाकार खुल्ला मैदान रहेको छ । यसलाई माथिल्लो टुँडिखेल भनेर चिनिन्छ । यही ठाउँमा राजा घमन्डको दरबार रहेको थियो । नेपाल एकीकरणको क्रममा कान्तिपुरका राजासँग सम्झौता गरेका थिए । सम्झौतामा घमन्ड राईले दरबार छोडेर पूर्वतर्फको उदैपुर गाउँलाई घरघडेरी कायम गरेर मुखिया पगरी स्विकार गरी बसोबास गरेका थिए । सम्झौतापछि माथिल्लो टुँडिखेल पटाँगी र आसपास क्षेत्रका जग्गा २०२९ सालसम्म घमन्डका वंश मुखिया पन्चध्वज राईको नाममा रहेको थियो । ओखलढुंगा जिल्ला मालपोत कार्यालयले २०२९।११।२१ गतेबाट नेपाली सेनाको विष्णु दल गुल्मको नाममा नामसारी गरिदिएको प्रमाण फेला परेको छ ।

सम्झौतामा राखिएको शर्तअनुसार वर्तमान उदयपुर जिल्लाको कटारी नगरपालिकाअन्तर्गतका जहडी र रिस्कु क्षेत्रबाट ‘मानाचामल सिक्सार’ खान पाउनु पर्ने थियो । त्यस क्षेत्रका जनताले हरेक वर्ष मानाचामल सिक्सारका रूपमा धान बुझाउनु पथ्र्यो । त्यसैगरी वर्तमान सोलुखुम्बु जिल्लाको काकु र मुक्ली क्षेत्रको तामाखानीबाट ‘तामा सिक्सार’ तथा देउसा र पन्चन क्षेत्रबाट चौरी गाईको घिउ सिक्सार जनताले बुझाउनु पर्ने सम्झौता भएको थियो । तामा खानी संचालकले तामा बुझाउँथे भने चौरीपालकले चौरीको घिउ बुझाउँथे ।

तालुक क्षेत्र वर्तमान ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा रहेको मोलुङ खोलापूर्व, रोम्दाखोला पश्चिम, बाघपाइले (गाजलेथुम्का)देखि दक्षिण र दुधकोशी र सुनकोशीको संगमस्थल जोर्तीघाटदेखि उत्तर क्षेत्रमा बसोबास गर्ने जनताबाट कज्याई खाएका जग्गाको रैकर उठाएर बुझाउने शर्त रहेको थियो । त्यसैअनुसार रैतीको तिरोभारो उठाउने मुखियाको जिम्मेवारी बहन गरेका थिए ।

घमन्डले धेरै बिहे गरेका थिए । जेठी श्रीमती हिलेपानीमा रहेकी थिइन् । हलेसी च्यास्मितर्फकी साइँली श्रीमती रहेकी थिइन् । साइँलीतर्फको छोरो मावलीघरमा हुर्केका थिए । उमेर पुगेपछि हिलेपानी गाउँमा आएर बसेका थिए । उदैपुर गाउँमा माइली र कान्छी श्रीमती रहेका थिए । तिनै श्रीमतीतर्फका सन्तानहरू उदैपुर, तल्लो रिचुवा, जाक्मा र हिलेपानीमा फैलिएर रहेका छन् । अहिलेसम्म उनीहरू आफूलाई ‘घमन्डको सन्तान’ भनेर चिनाउने गर्दछन् ।

किरात राई जातिभित्र २६ वटा भाषा बोल्ने समुदाय रहेका छन् । त्यसमध्ये वाम्बुले राई भाषी एक हुन् । घमन्ड राई वाम्बुले भाषी समूहका थिए । वाम्बुले राईभित्र २३ वटाभन्दा बढी पाछाहरू छन् । त्यसमा घमन्ड भावाचाचो पाछा (उपथर)का थिए र उनका वंश भावाचाचो पाछाको संख्या धेरै छन् । भावाचाचोभित्र पाछा फुट्दै जाँदा मुखेठोके, ज्वाँलेपाटा, बगाले, बुढाराई, गौरुङ, गोरठोक भनेर चिनिएका छन् । उनीहरू आपसमा हाडफोरा गरी बिहेवारी चलाए पनि आफूलाई घमन्डकै सन्तान भनेर चिनाउँदछन् ।

घमन्ड राई तालुकदारका रूपमा सीमित भएपछि करिब ८ पुस्ताले मुखिया र जिम्मावालको भूमिका निर्वाह गरेका थिए । विक्रम संवत् २०४६ सालको राजनीतिक परिवर्तनपछि मुखिया जिम्मावल प्रथा समाप्त भएको थियो ।

घमन्डका तालुकदार वंशः

१) बंशु राई
२) धनपति राई
३) घमन्ड राई (राजा/मुखिया) जन्म वि.सं.१७८१)
४) रन्जित राई (जन्म वि.सं.१८२०, घमन्डको ५ मध्ये कान्छी श्रीमतीतर्फको छोरा)
५) राजेन्द्र राई (जन्म वि.सं.१८५०, रन्जितको जेठा छोरा)
६) स्वरुपे राई (स्वरुपसिंं) जन्म वि.सं.१८६५, रन्जितको कान्छा छोरो)
७) सनमान राई (जन्म वि.सं.१८९५, स्वरुपेको छोरा)
८) पन्चध्वज राई (जन्म वि.सं.१९४१, सनमानको काइँली श्रीमतीतर्फको माइला छोरा)
९) नरमान राई (जन्म वि.स.१९७०–२०४५, पन्चध्वजको ४ मध्ये जेठी श्रीमतीतर्फको जेठा छोरा)
१०) कमलसिंह राई (अन्तिम मुखिया २०४६ साल, जन्म वि.सं. २०१८, नरमानको २ मध्ये कान्छी श्रीमतीतर्फको माइला छोरा)

अभिलेखालयमा दर्ता

मानेभन्ज्याङ गाउँपालिका वडा नं.५ वडापालिकाको सहयोगमा २०७७ माघ ९ गतेबाट १४ गतेसम्म गणेशकुमार राई, शुभराज राई (काजी), दीपकबहादुर राई र जन्तराम राईको अध्ययन टोलीले ऐतिहासिक अभिलेखहरूको अनुसन्धान गर्ने क्रममा सो ऐतिहासिक पत्र प्राप्त गरेको हो । टोलीले उक्त ऐतिहासिक पत्रलाई राष्ट्रिय अभिलेखालयमा दर्ता गराइसको छ । प्राप्त अन्य अभिलेखहरू गाउँपालिकामा बुझाइने प्रतिवेदनमा संलग्न गरिएका छन् ।

‘राई’ पृथ्वीनारायण दिएको पदवी होइन

किरात राई जातिभित्र २५ भन्दा बढी भाषा बोलिन्छन् भनेर स्वदेशी तथा विदेशी विद्वानहरूले उल्लेख गर्दैआएका छन् । यथार्थमा त्यही विशेषता कायम छ । पछिल्लो दशकमा केही उपबुजु्रकहरूले ‘पृथ्वीनारायण शाहले दिएको राई पगरी÷पदवी’ भनेर भ्रम फैलाएका छन् । राई जातिलाई टुक्राएर विच्छेद तुल्याउन उद्दत्त रहेका छन् । यस पटक स्थलगत अध्ययनबाट प्राप्त ‘पृथ्वीनारायण शाहले घमन्ड राईलाई पठाएको पत्र’ले किरात राई जाति पगरी होइन भन्ने प्रमाणित गरेको छ । राज्य एकीकरणका क्रममा घमन्ड राईले राजा पृथ्वीनारायण शाहलाई सहयोग गरेका थिए भन्ने स्पष्ट हुन्छ । तर, उनै पृथ्वीनारायण शाहले राई पदवी दिएका थिएनन् भन्ने पुष्टि भएको छ ।

स्रोत व्यक्तिहरू
असले राई (मुखेकान्छा, उमेर ४७), मानेभन्ज्याङ–५ उदैपुर, ओखलढुंगा
अमृतबहादुर राई (भोटोले, उमेर ७३), मानेभन्ज्याङ–५ उदैपुर, ओखलढुंगा
बलबहादुर राई (जिम्मुवाल ठाइँला, उमेर ६४), मानेभन्ज्याङ–५ उदैपुर, ओखलढुंगा
शरणजित राई (मुखेजेठा, उमेर ६२), मानेभन्ज्याङ–५ उदैपुर, ओखलढुंगा
कमलसिंह राई (मुखेमाइला, उमेर ५८), मानेभन्ज्याङ–५ उदैपुर, ओखलढुंगा
बीरमान राई, (उमेर ७८), मानेभन्ज्याङ–५ उदैपुर, ओखलढुंगा
कर्णबहादुर राई (म्याउरा, उमेर ६६), मानेभन्ज्याङ–५ उदैपुर, ओखलढुंगा
रामकुमार राई (उमेर ३६), मानेभन्ज्याङ–५ उदैपुर, ओखलढुंगा वडाध्यक्ष
मोतीराज राई (उमेर ६१), मानेभन्ज्याङ–५ माथिल्लो रिचुवा, ओखलढुंगा, गाउँपालिका अध्यक्ष

सन्दर्भ स्रोत
राई, गणेश । ‘वाम्बुले समुदायमा मुखिया, जिम्मावल’ लिब्जु–भुम्जु त्रैमासिक, वर्ष २०, पूर्णाङ्क ५२, २०६९ माघ–चैत्र –किरात येले सम्वत् ३७९२÷सन् २०१३), पाना नं.३–९ ।
थापा, श्यामु । सन् १९९६ । FOREST MANAGEMENT : SOME LEGAL ASPECTS- A CASE STUDY OF MANEBHANJYANG VILLAGE,IN OKHALDHUNGA DISTRICT। त्रिभुवन विश्वविद्यालय समाजशास्त्र÷मानवशास्त्र स्नातकोत्तर अप्रकाशित शोधपत्र, कीर्तिपुर, काठमाडौं ।

(इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ७ अंक ११, २०७७ माघ–चैत (किरात येले संवत् ३८००/सन् २०२१)मा प्रकाशित आलेख यहाँ राखिएकाे हाे ।)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्