जनता समाजवादी पार्टी फुटाउन डा. बाबुराम भट्टराईलाई साथ दिएका केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडाले अन्ततः भट्टराईलाई पनि साथ नदिने भएका छन् ।
उनले अब कुनै पार्टीमा नलाग्ने आफ्नै बाटोमा फर्किने घोषणा गरेका छन् ।
उनले हिजो सामाजिक सञ्जाल फेसबुकमा जसपा विभाजनप्रति दुःख प्रकट गर्दै अब आफ्नै बाटोमा फर्किने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘जसपाको विभाजनले मलाई आफ्नाे पछिल्लो सात वर्षे राजनीतिक जीवनको समिक्षा गर्ने अवसर दिएको छ । अब कसैसँग कुनै सम्झौता गरिन्न । सिधासिधा आफ्नै मौलिक बाटोमा फर्किने हो ।’
भट्टराई पक्षले बोलाएको जडिबुटीको बैठकमा सहभागी भएका नेता खतिवडाले अब लेखनमै केन्द्रित हुने संकेत गरेका हुन् ।
तर, उनले लेखनकै माध्यमबाट वैकल्पिक राजनीतिको पुनर्गठनमा सहयोग गरिरहने प्रतिज्ञा पनि गरेका छन् ।
उनले आफूले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न खोजे पनि प्रयत्न असफल र दुखान्त भएको गुनासाे गरेका छन् ।
‘गर्न खोजेको हो भएन, कुनै तर मार्या हैन, कुनै स्वार्थ पूरा गरेको हैन,‘ उनकाे गुनासाे छ, ‘एउटा प्रयत्न असफलता र दुखान्तमा पुग्यो ।’
स्रोतका अनुसार भट्टराई पक्षका नेता गंगा श्रेष्ठले पनि भट्टराईलाई साथ दिने छैनन् । उनी नेकपा माओवादीमै फर्किने कि एमालेमा जाने भन्ने मनस्थितिमा रहेका छन् ।
भट्टराई बौद्धिक व्यक्तित्व भए पनि राजनीतिक तथा संगठक नभएको उनको बुझाइ छ ।