माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षक गोपाल किरातीले जातीय, क्षेत्रीय विभेद अन्त्य गर्न पहिचानको आधारमा प्रदेशको नामसम्म राख्न तयार नहुने नेताहरु जनताको ‘भ्याकुरा लखेटाइ’मा पर्ने बताएका छन् ।

प्रदेश १ को नाम पहिचानको आधारमा नराखे हतियार उठाउने चेतावनी दिएका किरातीले संविधानले जातीय, क्षेत्रीय, लैंगिक विभेद अन्त्य गर्दै समाजवाद उन्मुख राज्य बनाउने व्यवस्था गरेको भन्दै जातीय क्षेत्रीय विभेदको अन्त्य गर्न प्रदेशको नामसम्म राख्न तयार नहुने सांसद तथा नेताहरु भ्याकुरा लखेटाइमा पर्ने बताएका हुन् ।

साल्पा अनलाइनसँगको कुराकानीमा उनले भने, ’यदि जातीय, क्षेत्रीय विभेद अन्त्य गर्नको निम्ति नामसम्म राख्न नेताहरु तयार हुँदैनन् भने हामीले विज्ञप्तिबाट आव्हान गरिसकेका छौं, उनीहरुलाई लखेट्ने जनकारबाही उठाउनुपर्यो र गाउँ–गाउमा पहिचान दस्ता बनाउन युवाहरुलाई विशेष आव्हान गर्दछौं भन्यौ । उहाँहरु त्यसो गर्नुहुन्छ भने वा जनताको आवाजलाई कुल्चनुहुन्छ भने उहाँहरुलाई ढिलोछिटो गाउँ–गाउँबाट लखेट्ने काम हुन्छ, साथीहरु भ्याकुरा लखेटाइमा पर्नुहुन्छ ।’

प्रदेश १ को नाम किलिको (किरात लिम्बुवान कोचिला) राख्न माग गरेका किरातीले पहिचानको आधारमा प्रदेश नामकरण नभए पहिचानको आन्दोलन सिद्धिन्छ भनेर कहिल्यै नसोच्न चेतावनी समेत दिए ।

उनले प्रचण्डलाई महाराजको संज्ञा दिँदै अभिजात वर्गको प्रतिनिधि भएको आरोप लगाए ।

उनले भने, ‘अहिले तमुवान भएन, ताम्सालिङ भएन, नेवा भएन, मगरात भएन, बडा काइदाभो भन्ठान्या होलान्, तर भोलि त्यहाँ जनता जाग्नेछन् ।’

प्रचण्ड अभिजात वर्गको प्रतिनिधि

पूर्वमन्त्रीसमेत रहेका नेता किरातीले नेकपा एमालेका अध्यक्ष केपी ओली मात्रै नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि कम्युनिष्ट नभएको जिकिर गरे ।

‘माक्र्सवादले के भन्छ भने मुख्यतः वर्ग हो । तर समाजमा रहेका सबैखाले अन्याय र उत्पीडनको विरुद्ध लड्नु वर्ग संघर्षकै दायित्वमा पर्छ । त्यो नमानेपछि एमाले कम्युनिष्ट होइन, प्रचण्ड पनि होइन, किनभने उहाँ त त्यो छोडेर एमालेतिर जानुभो,’ उनले भने, ‘अदालती माओवादीको रुपमा त होला, तर सारमा चाहिँ हो कि होइन त्यो परीक्षण हुँदैछ । हो भने ताम्सालिङ प्रदेश नराख्दा प्रचण्डले किन प्रश्न उठाएन ? मगरात नराख्दा, थरुवान नराख्दा, तमुवान खसान नराख्दा किन प्रश्न उठाएन ?’

उनले प्रचण्डहरु अहिले माओवादीबाट खाओवादी भएको बताए ।

उनले भने, ‘कहिले कांग्रेस मिलेर खाने, कहिले एमालेसँग मिलेर खाने, जसरी पनि खाने । हामी खाओवादीहरुसँग बस्न सकेनौ, त्यसो हुँदा माओवादी टुक्राटुक्रा भयो ।’

उनले प्रचण्डलाई महाराजको संज्ञा दिँदै अभिजात वर्गको प्रतिनिधि भएको आरोप लगाए ।

खास कम्युनिष्ट सिद्धान्तमा वैज्ञानिक विचारधारा, क्रान्तिकारी राजनीतिक कार्यदिशा र सर्वहारावादी चरित्रको संगठन हुनुपर्ने भन्दै किरातीले प्रश्न गरे, ‘त्यो खुमलटारको महाराज प्रचण्ड सर्वहारा हो ? खड्ग ओली सर्वहारा हो ? तिनीहरु त अभिजात वर्गको प्रतिनिधि भए ।’