नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राईले प्रदेश १ को नाम ‘किरात कोशी’, ‘किरात सगरमाथा’ वा ‘किरात लिम्बुवान खम्बुवान’मध्ये जुनमा सहमति हुन्छ त्यो नै राख्नुपर्ने बताएका छन् ।

तर प्रदेश नामकरणमा पहिचानलाई नसमेट्ने हो भने रक्तपात पनि हुन सक्ने उनको चेतावनी छ ।

कांग्रेसले यसअघि भीमबहादुर तामाङलाई संयोजक बनाएर एक समिति निर्माण गरेको र सो समितिको प्रतिवेदनमा ‘पहिचान भेटिने द्वन्द्व मेटिने’ कुरा उल्लेख गरिएको पनि उनले स्मरण गरे ।

‘भीमबहादुर तामाङको संयोजकत्वमा एउटा समिति नै बनेको छ । त्यसमा के भनेको छ भने पहिचान भेटिने द्वन्द्व मेटिने भनेको छ,‘ किरात प्रदेशका अभियान्ता तथा अधिवक्ता किवाङ हाङ राईसँगको कुराकानीमा उनले भने, ‘त्यसको मिनिङ के हो ? नेपाली कांग्रेसले जवाफ दिनुपर्यो नि !’

प्रदेश १ काे नामकरण जनताकाे सहमतिबाटै गर्नुपर्नेमा कांग्रेसले विनासहमित सप्तकोशी प्रदेश राख्न खोजेकोमा आक्रोश व्यक्त गर्दै उनले भने, ‘सप्तकोशी भनेर कसले हुकुम दियो ? भोलि त्यहाँ विद्रोह हुन्छ । कांग्रेसले त्यसलाई व्यवस्थापन गर्नुपर्छ कि पर्दैन ? नभए यसमा ब्लडसेड हुन सक्छ, मान्छे बलिदान दिन तयार भइसके ।’

साे क्रममा उनले किरात शब्दले किन एमाले र कांग्रेसलाई बिजाएको भन्दै प्रतिप्रश्न पनि गरे ।