बृहत् किरात एकता, आजको आवश्यकता

बाह्य भन्दा आन्तरिक उपनिवेशवाद खतरा

यतिबेला पूर्व तात्तिएको छ । पूर्व निर्णायक आन्दोलन गर्ने तयारीमा छ । राज्यले अल्मल्याइ रहे हजारौं वर्ष लडिरहने प्रण पूर्वले गरिसकेको छ । जसको विषय हो प्रदेश नामकरण ।

नेपाल आफैमा गठबन्धन हो । समाजको बनोट अनुसार राज्य व्यवस्था हुनुपर्छ भन्ने धारणासहित पहिलो संविधानसभाले खाका कोरेको जस्तो राज्य संरचना दोस्रो संविधानसभाले गर्न सकेन । फलस्वरुप पाँच विकास क्षेत्रको ठाउँमा सात प्रदेशको निर्माण भयो । जुन आफैमा अवैज्ञानिक हुँदा हुँदै नामकरणको सवालमा पनि जबरजस्त सांस्कृतिक, ऐतिहासिक पहिचानहरुलाई मेटाउने काम भयो ।

पाँच हजार वर्षदेखि जीवित सभ्यता किरात सभ्यता हो । जुन यो भूगोल र देशकै गर्वको विषय हुनुपर्ने हो । तर राज्यले यसमा गर्व गर्न सकेन । यसलाई राज्यले अपनत्व ग्रहण गर्न सकेन । फलतः १ नम्बर प्रदेशलाई कुनै एक नस्लीय नाम दिइयो । राज्य सत्ताको बलमा सभ्यता नामेट हुन्छ भन्ने विश्वको यो पछिल्लो उदाहरण हो ।

किरात के हो ? के होइन ? संघीयता, नामकरण, विश्व अभ्यास अहिलेको विषय यहाँ होइन । यहाँ बृहत किरात एकताको आवश्यकता किन छ ? यसको बलियो आधारहरु के के हुन् भन्ने विषयमा संक्षिप्त रुपमा चर्चा गरिन्छ ।

क) सांस्कृतिक आधारः

सांस्कृतिक रुपले ठुलो समुदायमा आफूलाई किरात भन्छन् ठान्छन् । पूर्वका राई, लिम्बु, याख्खा, सुनुवार मात्र होइन थामी, जिरेल, सुरेल, हायुले पनि आफू किराती ठान्छन् । त्यस्तै तराईका दनुवार, राजवंशी, धिमाल, मेचे, कोचेले पनि आफूलाई किराती नै ठान्दछन् ।

यति मात्र होइन इतिहासकारहरुका अनुसार उपत्यकाका ज्यापूहरु पनि किराती हुन् । मगर र गुरुङ समुदायमा पनि त्यसको अंश छ ।

यसर्थ, सांंस्कृतिक रुपले आफूलाई किरात ठान्नेहरुको सांंस्कृतिक एकता आजको आवश्यकता हो र बृहत् किरात एकताको पहिलो आधार सांस्कृतिक आधार हो ।

सांस्कृतिक रुपले किरात ठान्ने र नजिक छौं भन्नेहरु एकठाउँमा आउने बित्तिकै यो एउटा शक्तिमा रुपान्तरण हुन्छ, लुकाउने कुरा केही छैन । सबैको समस्या साझा नै छ ।

ख) ऐतिहासिक आवश्यकताः

इतिहासमा सभ्यताहरु कसरी नष्ट गरिन्छ भन्ने तथ्य बारबार राज्यशक्तिको दुरुपयोगद्वारा किरात सभ्यतामाथिको प्रहार हेरे पुग्छ । अहिले किरात सभ्यता मृत्यशैयामा छट्पटाइरहेको छ । यस सभ्यतालाई नष्ट गर्न विभिन्न चरणमा विभिन्न तरिकाहरु अपनाइयो ।

पछिल्लो अढाई सय वर्षको समग्र इतिहास मात्र हेर्ने हो भने पनि घरि भौगोलिक रुपमा वल्लो किरात, माझ किरात, पल्लो किरात भनी मनोवैज्ञानिक रुपमा विभाजन गरियो । घरि मन्दिर थाप्दै पण्डितहरुलाई मौजा दिइयो, घरि किरात भित्रै सधैंको लाति फरकपन देखाउन फरक–फरक सम्झौता गरियो त पछिल्लो समयमा रानैतिक पार्टीहरुले पनि फरक–फरक जातीय मोर्चाहरु गठन गरेर राजनैतिक विभाजन गरे ।

जनसङ्ख्यामा थोरै रहेका किराती समुहहरुलाई वास्ता गरेन । पछिल्लो पटक सात प्रदेश निर्माण गर्दा पनि यो राज्यले सुनुवार, हायु, जिरेल, सुरेल, थामी, बहुल रहेको क्षेत्रलाई १ नम्बर प्रदेशमा राख्न सकेन । यसको अर्थ इतिहासदेखि नै किरातीहरुलाई छिन्न–भिन्न पारेर सिध्याउने खेल हो ।

तसर्थ, एउटा गौरवपूर्ण किरात सभ्यता र इतिहासको जीवन बचाउन बृहत किरात एकताको ऐतिहासिक आवश्यकता छ । आज यो एकता निर्माण नगरे, आज यो इतिहास निर्माण नगरे, यो सम्पदा नजोगाए अबको एक शताब्दीपछि किरात कथा बन्नेछ ।

ग) जनसांख्यिक बनोटः

कुर्दहरु करिब चार करोड संख्यामा छन् । तर उनीहरु खासगरी टर्की, सिरिया, इराक, इरानको सिमाना क्षेत्रमा बसोबास गर्छन् । भनौं उनीहरुको खास स्थान नै त्यही हो । तर उनीहरु रहेको भूगोल फरकफरक देशको सिमा क्षेत्रमा बाँडिएको छ । यसैकारण उनीहरु कुनै पनि देशमा सशक्त छैनन् र उनीहरु छुट्टै देश कुर्दिस्तानको लागि लडिरहेका छन् ।

त्यस्तै अवस्था आन्तरिक र बाह्य दुबै रुपमा किरातीहरुको पनि छ । आन्तरिक रुपमा देशभित्र आफूलाई सगौरव किराती हौं भन्नेहरु फरक फरक प्रशासनिक भूगोलमा बसोबास गर्छन् । तसर्थ, उनीहरु जनसाङ्ख्यिक रुपमा छिन्न–भिन्न छन् ।

काठमाडौं उपत्यकाको ज्यापूहरु किराती हुन् । मगर, गुरुङ समुदायमा पनि किरातीको अंश छ भनेर भन्दै गर्दा ललितपुर, मकवानपुर क्षेत्रमा देवास राईहरुको बसोबास भेटिदै गर्दा किरातीहरुको फैलावट देशभित्र ठुलो छ र देश बाहिर पनि भारत, म्यानमार, भुटान, बंगलादेशसम्म मात्र नजर लगाउने हो भने पनि किरातीहरुको फैलावट धेरै छ । यसर्थ, जनसाङ्ख्यिक बनोटले पनि बहत् किरात एकताको माग गर्दछ ।

घ) राजनैतिक आवश्यकताः

पूर्वी नेपालमा चलिरहेको आन्दोलन पूर्ण रुपले राजनैतिक आन्दोलन हो । जसले जेसुकै रंगले छेप्न खोजे पनि सारा प्राणी जगत् खाना र अस्तित्वको लागि संघर्ष गर्छ र पूर्वको आन्दोलन अस्तित्वको लडाइँ हो । त्यो जातिको भने पनि, सभ्यताको भने पनि, संस्कृति वा भूगोल, इतिहास जे भने पनि अस्तित्व रक्षार्थको संघर्ष हो ।

यो गोरखा राज्य हालको नेपाल स्थापना भएदेखि पूर्वमा विद्रोह नै विद्रोह छ । यसको पनि कारणहरु छन् । नेपाल हाल बहुजातीय भए पनि विगत यस्तो थिएन । काठमाडौं पूर्वको अवस्था बेगल थियो । उपत्यकाकेन्द्रित ३२ पुस्ता राज्य गर्ने किरात वंशको मुख्य थलो पूर्वी नेपाल नै हो ।

त्यसको सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक जरा अत्यन्तै बलियो छ । जसलाई सयौं वर्षको बरबर अनेकन हमला पछि पनि पूर्वी नेपाल त्यो जरा उखेल्न दिन चाहँदैन । पूर्वी नेपाल माथिको पछिल्लो आक्रमण भनेको प्रदेश नाम नामकरण हो । जसरी कपटपूर्ण ढंगले सात प्रदेश बनाइयो, त्यसरी नै प्रदेशको न्वारान पनि एकल नस्लीय वर्चश्वशालीहरुले छापामार सैलिमा गरे । यो सामान्य विषय होइन ।

यसर्थ, यसको प्रतिरोधको आवश्यकता रह्यो । यसको प्रतिरोध वैज्ञानिक ढंगले र राजनैतिक हिसाबले गर्न जरुरी छ । जसका लागि मुख्यत सम्पूर्ण न्याय चाहने स्वाभिमानीहरु र पूर्वी नेपाल जसको आदिम थलो हो उनीहरु सबै एकठाउँमा आउन आवश्यक छ । राई र लिम्बु मात्र उफ्रिएर हुन्न । हो, जनसंख्यामा राई लिम्बु बढी होला । बढी भएको दम्भले अरुलाई नसमेट्ने हो भने यो आन्दोलन निष्कर्षमा पुग्दैन ।

यहाँ राई, लिम्बु, याख्खा, सुनुवार , धिमाल, मेचे, राजवंशी, जिरेल, सुरेल, हायु र जो किरात भन्छन् उनीहरुको बलियो मोर्चा बन्नु जरुरी छ । किनकि, सबैको मूल जरा एउटै हो । सबैलाई एकैपटक दुख्नुपर्छ । उत्पीडितहरु सबै एकठाँउमा आउनुपर्छ ।

तर यहाँ पूर्वी नेपालको आन्दोलनको सन्दर्भमा लेखिएको हो । राई लिम्बुले झापा–मोरङमा आन्दोलन गर्दै गर्दा धिमाल, राजवंशी, कोचे, मेचेलाई नसमेट्ने हो भने आन्दोलन सफल हुन्न र धिमाल, राजवंशी, कोचे, मेचेले त्यहाँ आन्दोलन गर्दा राई, लिम्बु चुपचाप बस्ने हो भने आन्दोलन उठ्दैन । यसर्थ सांस्कृतिक निकटतालाई राजनैतिक निकटतामा परिवर्तन गर्न जरुरी छ ।

१ नम्बर प्रदेशमा आन्दोन भइरहँदा ३ नम्बरमा बस्ने सुनुवार, जिरेल, थामी, सुरेल, हायु सबै आन्दोलित हुन आवश्यक छ । किनकि, अहिले बनाइरहेको १ नम्बर प्रदेशको भूगोल संस्कृतिको सम्मानसँग ३ नम्बर बस्ने सुनुवार, जिरेल, थामी, सुरेल, हायु सबैको आत्मसम्मान जोडिन्छ ।

सुनुवार, जिरेल, थामी, हायु, सुरेलले, ३ नम्बरमा कुनै राजन्तििक, सांस्कृतिक, आन्दोलन माग राख्दै गर्दा आफ्नो अस्तित्व रक्षार्थ बोल्दै लड्दै गर्दा १ नम्बरको राई, लिम्बु, याक्खालगायत चुप बस्ने हो भने त्यो शुन्यतामा बिलाउँछ । १ नम्बर प्रदेशमा चलेको आन्दोलनको मुटु उपत्यकाको ज्यापुसँग जोडिनुपर्छ ।

१ नम्बर प्रदेशको आन्दोलनको पक्षमा ज्यापूहरु बोले, ज्यापहरुको आन्दोलनमा पूर्व लाग्छ । ३ नम्बरकै हकमा पनि ज्यापु र देवास राईहरु एक भए छुट्टै राजनीतिक मोर्चा बन्न सक्छ ।

यसर्थ, किरातीहरुको सांस्कृतिक एकता, सांस्कृतिक निकटतालाई राजनैतिक शक्तिको रुपमा बदल्नुपर्छ । यसो गर्दा सामुदायिक, सांस्कृतिक, राजनैतिक, ऐतिहासिक फाइदा त छ नै । यसले अन्य समुदायमा पनि सकारात्मक एकताको सन्देश दिन्छ ।

तसर्थ, बृहत् किराती एकताको राजनैतिक आवश्यकता अहिलेको समय परिस्थितिले माग गर्दछ । किराती एकता नै त्यस्तो एकता बन्न सक्छ, जसले वर्तमान अवैज्ञानिक राज्यपुनर्संरचनाको सीमांकन बदल्न सक्छ । किनकि, यो बदल्न आवश्यक छ ।

अन्त्यमा,

एकतामा बल हुन्छ । नेपालभित्र किरातहरु आन्तरिक उपनिवेशवादको विरुद्ध लडिरहेका छन् । बाह्य भन्दा आन्तरिक उपनिवेशवाद खतरा हुन्छ । यसर्थ, आन्तरिक उपनिवेशवादका विरुद्ध लड्न बृहत् किरात एकताको आवश्यक छ । किरातहरुको अन्तराष्ट्रिय एकता पनि यही बृहत् किरात एकताभित्रै पर्छ । पहिले मूल जरा जोगाउन जरुरी छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्