जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले धरान लाहुरेहरुको पेन्सन र विदेश गएकाहरुले पठाउने रेमिट्यान्समा मात्रै बाँच्ने सहरमा रुपान्तरण भइसकेको भन्दै धरानलाई अब सुरक्षित र समृद्ध सहर बनाउनुपर्ने बताएका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा सुनसरी–१ बाट सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्न लागेका नेता राईले आइतबार पार्टीको नगर समितिको कार्यालयमा नेता तथा कार्यकर्ताहरुलाई चुनावी अभियानमा जुट्न निर्देशन दिँदै सो कुरा बताएका हुन् ।
‘धरान पेन्सन र रेमिट्यान्समा बाँच्ने सहरमा रुपान्तरण भइसक्यो, यो राम्रो कुरा होइन,’ उनले भने, ‘हामीले अब धरानलाई सुरक्षित र समृद्ध सहर बनाउनुपर्छ ।’
उनले धरानलाई उद्यमशील र आत्मनिर्भर मानिसहरुको बसोबास भएको सहरको रुपमा निर्माण गर्ने आफ्नाे लक्ष्य रहेको पनि बताए ।

नेता राईले नेपालका आदिवासी जनजातिलगायत स्थानीय समुदायको परम्परागत ज्ञान र सिपलाई आयआर्जनमा रुपान्तरण गरी देशको राष्ट्रिय पुँजी निर्माण गर्नुपर्ने पनि बताए ।
उनले धरानका नेता तथा कार्यकर्ताहरुलाई आ–आफ्नाे वडामा क्रियाशील हुन निर्देशन दिए ।
आफू सुनसरी–१ बाटै निर्वाचनमा उठ्ने जानकारी दिँदै उनले भने, ‘आ–आफ्नाे वडामा समितिहरुलाई क्रियाशिल बनाउनुहोस्, वडालाई केन्द्रविन्दुमा राखेर चुनावको प्रचारप्रसारमा लाग्नुहोस् ।’
उनले पार्टीमा लाग्नेहरु र भाग्नेहरु दुवैखाले मान्छेहरु भए पनि लाग्नेहरुले नै इतिहास निर्माण गर्ने भएकोले उच्च मनोबलका साथ पार्टीको काममा लाग्न निर्देशन दिए ।
‘जसपा नेपाल नै मुलुकको परिवर्तनका लागि सही दृष्टिकोण भएको पार्टी हो,’ उनले भने, ‘पार्टीमा भाग्नेहरु पनि छन्, लाग्नेहरु पनि छन्, लाग्नेहरुले इतिहास बनाउँछन्, भाग्नेहरुले होइन ।’
सो अवसरमा पार्टीको धरान नगर समिति अध्यक्ष ताजुब लिम्बूले निर्वाचनमा नगरका २० वटै वडाका नेता कार्यकर्ताहरु उत्तिकै क्रियाशील हुनुपर्ने बताए ।
उनले पार्टीका कतिपय नेताहरुलाई बैठकमा बोलाउँदा पनि समय दिन नसक्ने विगतको तितो अनुभव रहेको बताए ।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य भीम राई, केन्द्रीय सदस्य दुर्गामाया लिम्बू, केन्द्रीय सदस्य विना राईलगायत नगर समिति र वडा समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।
सोही कार्यक्रममा लेखक तथा राजनीतिक विश्लेषक भवानी बरालले पनि निर्वाचन केन्द्रित कार्यपत्र प्रस्तुत गरेका थिए ।



