कोशी नामकरणविरुद्धकाे आन्दोलनमा ९ साना दलहरुकाे समर्थन

कोशी नाम खारेज नगरे देशव्यापी आन्दोलन

काठमाडौं । प्रदेश १ लाई कोशी नामकरणको विरोधमा कोशीमा चलिरहेको आन्दोलनलाई ९ वटा साना राजनीतिक दलहरुको गठबन्धनले समर्थन गरेको छ ।

गठबन्धनले शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी कोशी नाम खारेज गरी पहिचानसँग जोडिएको नाम नराखे देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएकाे छ ।

खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बूले १ नम्बर प्रदेशको नाम कोशी नामाकरण हुनु त्यहाँका आदिवासी जनताको पहिचानमाथि धाबा बोल्नु समान भएको बताए ।

जनताले आफ्नो पहिचान गुमाएको महसुस गर्नु र त्यसको प्रतिबाद गर्नु स्वाभाविक रहेको बताउँदै उनले भने, ‘जनताले सो नामलाई शान्तिपूर्ण तरिकाले अस्वीकार गर्दा राज्यले बल प्रयोग गरेर हत्या नै गर्नु गलत भयो । त्यसको ठूलो मुल्य चुकाउनु पर्छ ।’

उनले भने, ‘ठूलो त्याग र बलिदानबाट प्राप्त पहिचानको उपलब्धिलाई वर्तमान शासक प्रशासकहरुले योजनाबद्ध तवरले त्यसलाई कमजोर बनाएको हामीलाई सह्य छैन ।’

नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा.विजय सैजुले कोशीमा चलेको आन्दोलनमा आफूहरुको पूर्ण सहमति रहेको बताउँदै देशमा बहुपहिचान सहितको संघीयता लागू हुनुपर्ने बताए ।

उनले भने, ‘पहिलेको राज्य पुर्नसंरचना समितिले ल्याएको नेवा, तामाङ, खम्बुवान, लिम्बुवान, मगरात, तमुवानलगायत १४ पहिचानसहितको संघीयताको लागि लड्ने बेला आएको छ ।’

राष्ट्रिय ताम्सालिङ पार्टी अध्यक्ष बुद्धराज लामाले स्थानीय जनताको भावना र मर्म विपरित भएको नामाकरणमा पुनर्विचार गर्नुपर्ने बताउँदै भने, ‘हामीलाई जातिवादी, बिखण्डनकारीलगायत आरोप लगाएर पहिचानका मुद्दा कमजोर बनाउने कोशी हामीलाई स्वीकार्य छैन ।’

मगरात राष्ट्रिय पार्टी नेपालका अध्यक्ष इन्द्रबहादुर मगरले कोशी नामाकरण खारेज नगरिए कोशीमा सल्किएको आगो देशभरि फैलिने चेतावनी दिए ।

पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरुले चैत ५ गते विराटनगरमा प्रहरीको दमनबाट पदम लिम्बुको मृत्यु भएको भन्दै मृतक लिम्बुलाई सहिद घोषणा गरिनुपर्ने र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग समेत राखेका छन् ।

प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आन्दोलनमा नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, बहुजन शक्ति पार्टी, थारुवान–थारुहट संघर्ष समिति, राष्ट्रिय ताम्सालिङ पार्टी नेपाल, खसान राष्ट्रिय संघर्ष समिति, मगरात राष्ट्रिय पार्टी नेपाल, लिम्बुवान पार्टी नेपाल, तमुवान राष्ट्रिय पार्टी नेपाल गरी ९ वटा दलहरुको गठबन्धनले समर्थन गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्