वर्णाश्रममा आधारित जात व्यवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्छः अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्णाश्रममा आधारित जात व्यवस्था अन्त्य गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टीको दलित/शिल्पी विषेश राष्ट्रिय समिति तथा समाजवादी दलित मुक्ति संग्रामले बुधबार काठमाडौँको माइतीघर मण्डलामा आयोजना गरेको जातीय विभेदविरुद्ध विरोध प्रदर्शनमा अध्यक्ष यादवले वर्णाश्रममा आधारित जात व्यवस्था अन्त्य गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

उनले जातीय विभेदलाई संवैधानिक रुपमा दण्डनीय र अन्तर्राष्ट्रिय कानुनले पनि मानवताविरोधी अपराधको रुपमा लिएकोले जातीय विभेदलाई समाजको जरैदेखि उखेलेर फाल्नका लागि सबै आ–आफ्नाे ठाउँबाट लाग्नुपर्ने बताए ।

जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य दलमर्दन कामीले नेपालमा हिन्दु वर्णाश्रममा आधारित जात व्यवस्था रहेसम्म जातीय विभेद कायम रहने बताए ।

उनले ‘उच्च जातिका मानिस’ भनिएकाहरुले जनावर (कुकुर)लाई आफ्नाे ओछ्यानमा राखेर माया गर्ने तर कामी, दमाई सार्की, वादी, डोमजस्ता समुदायमाथि अमानवीय व्यवहार गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

तीन दिनअघि जुम्लामा अन्तरजातीय बिहेको निहुँमा तातोपानी–४, गिडीखोलाका २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरिएको विरोधमा जसपानिकट दलित/शिल्पी सङ्गठनले काठमाडौँमा विरोध प्रदर्शन गरेको हो ।

मुकुन्द नेपालीले स्थानीय उच्च जातिका भनिएका एक किशोरीसँग प्रेम विवाह गरेका थिए ।

विरोध प्रदर्शन कार्यक्रममा संविधानसभा सदस्य कमला विक, पूर्वराजदूत डा. निर्मल विश्वकर्मा, दलित अभियान्ता मित्र परिवार, जसपा दलित मुक्ति सङ्गठनका प्रदीप घताल, मिसन अम्बेडकरका संयोजक मनोज जैगडी, नेपाली कांग्रेसमा आबद्ध नेता राजन विक, दलित अभियान्ता विजय कालिकोटेलगायत जसपाका विभिन्न सङ्गठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img