काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा जुनसुकै पार्टी, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने प्रष्ट पारेका छन् ।
शनिबार गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रममा उनले यो कुरा बताएका हुन् ।
‘भ्रष्टाचार बेथिति र ठगीविरोधी अभियान रोकिदैन,’ उनले भने, ‘जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नाता सम्बन्धीका हुन् । सरकारलाई कसैसँग मतलब छैन । अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ ।’
उनले वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको भन्दै सुशासनविना संमृद्धिको यात्राले फड्को मार्न नस्कने बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको बताए ।
‘आम जनता अब देशमा केही हुन्छ भन्नेमा आशावादी छन्,’ उनले भने, ‘भ्रष्टाचारविरुद्धको अभियानको विपक्षमा उभिनेका सम्बन्धमा सचेत हुनुपर्छ ।’
भ्रष्टाचारविरोधी अभियानको विपक्षमा आवाज उठाउनेबाट सरकारको यस अभियानलाई पनि हालतमा विश्राम दिन नसक्ने उनको भनाइ छ ।