राज्यको हर्कतविरुद्ध एकजुट होऔं: आदिवासी जनजाति साहित्यकार महासंघ

पक्राउ गरिएकाहरुलाई तत्काल रिहाइ गर

अधिवक्ता भगवती पाण्डेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा धर्ना दिने क्रममा प्रहरीले प्रदर्शनकारीहरुमाथि बल प्रयोग गरी दमन गरेको भन्दै आदिवासी जनजाति साहित्यकार/लेखक महासंघले घोर भर्त्सना गरेको छ ।

तामाङ-मगरसहित समग्र आदिवासी जनजाति समुदायलाई नै अपराधीकरण गर्ने आशयसहितको अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ गरी कानुन अनुसार कारबाही गर्न माग गर्दै बुधबार टेकुमा आदिवासी जनजातिहरुले प्रदर्शन गरेका थिए ।

तर प्रहरीले प्रदर्शनकारीहरुमाथि लाठी चार्ज गर्नुका साथै ४० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएकाे र हिरासतमा रहेकाहरुलाई समेत यातना दिएको भन्दै महासंघले प्रहरी प्रशासनको सो कार्यकाे घाेर विराेध गरेकाे छ ।

महासंघका अध्यक्ष तथा वरिष्ठ साहित्यकार राजन मुकारुङ र महासचिव बुद्ध योन्जन लामाले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी पक्राउ परेकाहरुलाई तत्काल विनासर्त रिहाइ गर्न र घाइतेहरुको उपचारकाे व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

प्रहरी प्रशासनले प्रदर्शनकारीहरुमाथि गरेको दमन र हिरासतमा राखेकाहरुलाई दिएको यातना राज्यको हर्कत भएकाले त्यस्ता हर्कतविरुद्ध एकजुट हुन विज्ञप्तिबाट अपिल पनि गरिएको छ ।

अधिवक्ता पाण्डेले तामाङ-मगर समुदायमा दाजुबहिनीबिचमै बिहे हुने र त्यसकाे जेनेटिक (वंशानुगत) कारणले अपराधी मानसिकता भएकाहरु जन्मने आशयकाे अभिव्यक्ति एक टेलिभिजन अन्तर्वार्तामा दिएकी थिइन् ।

पाण्डेले सिंगो तामाङ-मगर समुदायको अपमान हुने गरी सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनलाई पक्राउ गरी कारबाहीकाे मागसहित गत हप्ता नै प्रहरीमा उजुरी दिइएको थियो ।

तर, प्रहरीले पाण्डेलाई पक्राउ गरेको थिएन । उनी खुला रुपमा हिँडिरहेकी थिइन् ।

बुधबार काठमाडाैंकाे टेकुमा आदिवासी जनजातिहरुले बृहत प्रदर्शन गरेपछि मात्रै प्रहरीले पाण्डेलाई पक्राउ गरेको छ ।

प्रदर्शनको आयोजना नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले गरेको हो ।

प्रदर्शनकारीहरुमाथि दमन गर्नुका साथै नियन्त्रणमा लिएर यातना दिएको भन्दै नेपाल तामाङ घेदुघ र नेपाल मगर संघले पनि बुधबार नै संयुक्त प्रेस विज्ञप्ति जारी गरी पक्राउ परेकाहरुलाई विनासर्त रिहाइ गर्न माग गरेका छन् ।

रिहाइ नगरे बिहीबारदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

सम्बन्धित समाचार

याे पनि पढ्नुस्