धरानमा गोरु काटेको अभियोगमा पक्राउ परेका बिन्द्र राई र राजन परियार रिहा भएपछि पुनः गोरु काटेर मासु खाँदै खुसियाली मनाइएको छ ।
गत साउन १० गते धरान–५ का बिन्द्र राई र १५ का राजन परियारलाई इलाका प्रहरी कार्यालय धरानले ३० किलो गोरुको मासुसहित पक्राउ गरेको थियो ।
उनीहरु १७ दिनपछि रिहा भए ।
गाई–गोरुको मासु खाने आफ्नाे सांस्कृतिक परम्परा रहेकोले सोको रक्षाका लागि राज्यसँग संघर्ष गरिरहेका राई, लिम्बु, तामाङ, शेर्पालगायत आदिवासी समुदायका अगुवाहरुले आन्दोलनकै रुपमा रिहाइ भएकाहरुलाई स्वागत गर्दै मंगलबार पुनः गोरु काटेर सहभोज गरेका हुन् ।
उनीहरुले धरान–११ को वडा कार्यालय अगाडि मंगलबारे चोकमा गोरु काटेर खाए, रिहा भएका बिन्द्र राईलाई खादा लगाएर स्वागत गरे ।
कार्यक्रममा राजन परियार भने अनुपस्थित थिए ।
गोरु काटेर खान पाउने आफूहरुको सांस्कृतिक अधिकार रहेको भन्दै उनीहरुले निरन्तर गोरुको मासु खाने बताएका छन् ।
यसअघि पनि धरानमा गोरु काटेको अभियोगमा पक्राउ परेका १० जना रिहा भएपछि सामूहिक रुपमा गोरु काटेर भोज गरेका थिए ।
सहभाेजमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईसहितका पत्रकारहरु पनि सहभागी भएका थिए ।







