यसकारण हामीले आफूलाई ‘आदिवासी’ नै भन्नुपर्छ

आदिवासी, मुलबासी र मंगोल शब्दभित्र डरलाग्दो चित्र काेरिएकाे छ

कुमार लिङ्देन

१. आज चीनमा जति पनि चिनियाँहरु छन्, उनीहरु त्यहाँकाे मुलबासी हुन् । उनीहरु चीनको आदिवासी होइनन् । आज जापानमा जति पनि जापानिजहरु र कोरियामा जति पनि कोरियनहरु छन्, उनीहरुलाई त्यहाँको मुलबासी भनिन्छ । तर उनीहरुलाई त्यहाँको आदिवासी भनिँदैन । ब्रिटिशहरु बेलायतको मुलबासीहरु हुन् । तर उनीहरु त्यहाँको आदिवासी होइनन् ।

२. सेतामगुराली खथाधिज्यासुनुवार (खस, थारु, धिमाल, ज्यापु, सुनुवार) आदि नेपालकाे आदिवासीहरु हुन् ।

३. आदिवासी र मुलवासी शब्द सुन्दा उस्तै लागे पनि यी दुई शब्दभित्र धेरै भिन्नताहरु छन् ।

४. एउटा समुदाय आजभन्दा ५ हजार वर्षअघि घुम्दै-फिर्दै एउटा ठाउँमा बसेर आजसम्म पनि आफै शासक भएर बसे भने उनीहरुलाई मुलबासी भन्दा हुन्छ । जस्तोः चीन, जापान र कोरियामा लगभग ५ हजार वर्षको दौडानमा त्यहाँको खाली भूमि खनजोत गरेर जुन जाति बसे र उनीहरु आज पनि बसिरहेका छन्, उनीहरु त्यहाँको मुलबासी हुन् ।

५. तर, जुन समुदाय कुनै पनि ठाउँमा आजभन्दा ५० हजार वर्ष अघिदेखि निरन्तर बसिरहेका छन् र बिचमा ठुला आक्रमणकारी धर्महरु हिन्दु, क्रिश्चियन, मुस्लिम समर्थकहरुले ती समुदायको जमिन र शासनसत्ता जबरजस्ती लुटेर लग्यो र उनीहरुको धर्म मान्न बाध्य पार्यो । तर आजसम्म पनि त्यो सत्ता र सत्ताधारी सभ्यताको अघि घुँडा नटेकी निरन्तर आफ्नो आदिम धर्म-संस्कार, भाषा, भूमिको रक्षाको लागि लडिरहेको जनसमुदाय चाहिँ आदिवासी हुन् ।

आदिवासी हुनका लागिः-

१, भूमिमाथि निरन्तर बसोबाससहित दाबी गरिरहेको समुदाय,
२, बिचमा आक्रमणकारी सत्ताले ती समुदायमाथि आक्रमण गरेर आफ्नो धर्म लाद्न निरन्तर प्रयास गरेको,
३, तर उक्त आक्रमणकारी सत्तासामु ती पीडित समुदायले ५ हजार बर्षसम्म पनि घुँडा नटेकेको, बरु निरन्तर प्रतिकार गरेको र
४, एक दिन न एक दिन त्यो आक्रमणकारी सभ्यता, धर्म वा राज्यले ती पीडित समुदायलाई उनीहरुको जल, जंगल र जमिनको लागि क्षतिपूर्ति दिनैपर्ने संयुक्त राष्ट्र संघको घोषणा भएकाे ।

यी क्राइटेरिया पूरा गर्ने समुदायहरु मात्रै आदिवासीमा पर्छन् । नत्र, ५ हजार वर्षदेखि बस्दैमा आदिवासी भनिँदैन । उनीहरुलाई मुलबासी मात्र भनिन्छ ।

जस्तोः जापानिजहरु जापानको मुलबासी हुन्, आदिवासी हाेइनन् । किनकि, जापानिजहरुलाई अर्को अनुहार वा अर्को सभ्यताको मान्छे आएर आक्रमण गरेर उनीहरुको जल, जमिन, जंगल खोसिदिएको छैन ।

६. यसरी आदिवासी शब्दभित्र पचासौं हजार वर्षदेखि निश्चित भूमिमा बसिरहेको, बिचमा विगत ५ हजार वर्षदेखि ५ सय वर्षभित्रमा एकदमै परदेशी, भिन्दै अनुहार, सभ्यता र धर्म भएको राज्यले आक्रमण गरेर आफ्नो जल, जमिन र जंगल खोसेर झुक्न बाध्य बनाएको, तर निरन्तर संघर्ष गरेर ती आक्रमणकारीसामू नझुकेको र भविष्यमा संयुक्त राष्ट्र संघमार्फत आफ्नो जल, जमिन, जंगल र सभ्यता उपरको क्षतिपूर्ति पाउने आशासहित लडिरहेको समुदाय नै आदिवासी समुदाय हाे ।

७. यति गहन र यति धेरै पीडाले भरिएको शब्द आदिवासी जहाँ आक्रमणकारी परदेशी अनुहारसँग हजारौं वर्षसम्म पनि नहारेको, लडिरहेको र भविष्यमा क्षतिपूर्ति पाउने आकांक्षाका साथ लडिरहेको समुदाय आदिवासीलाई त्यति सजिलै मुलबासी मात्र भन्दा के हुन्छ ? गम्भीर हुनुपर्छ ।

८. के मुलबासी शब्दले आदिवासी शब्दले बोकेको इतिहास वर्तमान र भविष्य बोक्न सक्दछ ? गम्भीर भएर सोचौं ।

९. एमएनओ मंगोलको साथीहरुले आदिवासीहरु चोर हुन्, चुतिया हुन्, शरणार्थी हुन् । आदिवासी भन्नु हुँदैन, मुलवासी मंगोल भन्नुपर्छ भनेर गलत प्रचार गरिरहँदा नेपाल आदिवासी जनजाति महासंघ, कियाचु, यायोक्खा, घेदुङ कोही लेखेर, बोलेर मंगोलको गलत आरोपको खण्डन गरेको देख्दिनँ । लाहुर्निप पनि यो विषयमा चुप देख्छु ।

१०. सेतामगुराली खस, थारु, नेवारहरुले आफूले आफूलाई आदिवासी भन्ने कि मुलवासी मंगोल भन्ने ? यसबारेमा गम्भीर बहस हुनुपर्छ । के कारणले मंगोलको साथीहरुले आदिवासी राई, लिम्बु, तामाङ शब्दलाई मेटेर गरेर मुलबासी मंगोल शब्दलाई स्थापित गर्न खोज्दैछन् ? यसबारेमा गम्भीर हुनैपर्छ, सजक हुनैपर्छ ।

११. मुलबासीको आधार के हो ? ल अहिले बाहुनहरु नेपाल आएको १ हजार वर्ष भयो रे । तर अबको ४० हजार वर्षपछि त उनीहरु यहाँ आएको पनि ४१ हजार वर्ष पुरानो भैसक्छ ।अनि, जहिले उनीहरुलाई तिमीहरु हिजोअस्ति आएको शरणार्थी हौं भन्दा मान्लान् त ? त्यतिबेला त उनीहरु पनि मुलबासी भैसकेका हुन्छन् । किनकि, ४१ हजार वर्षको बसोबास भनेको खेलाची हाेइन ।

त्यसैले आदिवासी शब्दले हामीलाई करोड वर्ष पुग्छ भने मुलबासी शब्दले हामीलाई धेरै समय थेग्न सक्दैन । आदिबासी शब्दमा हिजोको पीडा, संघर्ष र भोलिको क्षतिपूर्तिसम्मको अथाह बिषयहरु समेटिएका छन् । त्यसैले हामीले आफूलाई आदिवासी नै भन्नुपर्छ ।

१२. यसबारेमा हामी गम्भीर भएनौं भने राज्यले ल ल एमएनओकाे माग बमोजिम आदिवासी शब्द हटाउने अनि मुलबासी मंगोल लेख्ने भन्ने सहमति कुनै दिन नाटकीय रुपमा गर्याे भने अचम्म नमान्नु होला ।

हामी आदिवासीबीचमा लामो नाटक मञ्चन गराउँदै छन् । अनि, उनीहरुले भन्न थाल्ने छन्- ’ल हामी आर्य, तपाईंहरु मुलवासी मंगोल हुनुभयो, संविधानमा बराबरी भयाे । अब हामी आर्यहरु इरानबाट आएका र तपाईंहरु हामीभन्दा अलिक अघि मंगोलियाबाट आउनुभएको, दुवै शरणार्थी हाैं, दुवै मिलेर बसौं ।’

यही कुरा राज्यले भन्नको लागि लामो नाटक मञ्चन गरिरहेकाे छ । दुःख लाग्दो कुरा आदिवासी महासंघको नेताहरु श्वास गए झैं चुप छन्, एक शब्द बोल्दैनन् । तर, हामी बहस गर्न तयार छाैं ।

(संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनकाे फेसबुकबाट ।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्