काठमाडौंको बानेश्वर थापागाउँस्थित मण्डला नाटकघरमा अहिले दमिनी भीर मञ्चन भइरहेको छ । असोज १० गतेसम्म मात्र मञ्चन गरिने यो नाटकका लेखक राजन मुकारुङ हुन् ।
उनले आफ्नाे मदन पुरस्कार विजेता उपन्यास दमिनी भीरलाई १० वर्षपछि नाटकको रुपमा लेखेका हुन् ।
दर्शककाे उत्साहपूर्ण साथ पाइरहेकाे बेला लेखक मुकारुङले दमिनी भीरबारे यस्ताे लेखेका छन्ः
झन्डै १२ वर्षअघि जब “दमिनी भीर” उपन्यास आयो, तब ममाथि एउटा कठोर प्रश्न आएको थियो- “तपाईंका पात्रहरू कोही पनि “हिरो (नायक)” र “हिरोइन (नायिका)” लाग्दैनन् । सबै लुम्रेझुम्रे । केही जित्दैनन्, तिनले जित्छन् जस्तो पनि लाग्दैन । यस्तो लेख्दा झ्याउ लागेन ?”
मैले उबेला जवाफ दिन्थेँ- “हो नि । म “कस्मेटिक” खालको नायक (वाद)मा विश्वास गर्दिनँ । सुकिला-मुकिला म आफै हुन सकिनँ, लुम्रेझुम्रे जिन्दगी नै बाँचिआइयो, त्यही महान् लाग्छ । मलाई त लच्छी र धौले कान्छाको प्रेम, गाउँको जीवन भोगिरहेका ती मान्छेहरू जो रूपमा देखिँदा मैलाधैला होलान्, तर सारमा उनीहरू सप्पै सप्पैको सफा र शालीन हृदय छ, त्यसैले मलाई हिरिक्क बनाउँछ । उनीहरूले के जित्नु पर्छ र ? बाहिरबाट देखिने तडकभडकको हाकाहेपाइलाई उनीहरूको सफा दिलले जिते समाज त अवश्य अघि बढ्छ र पुग्छ- ठिक ठाउँमा ।”
आज लगभग १२ वर्षपछि “दमिनी भीर” नाटक प्रदर्शन भइरहँदा तपाईंहरू ज-जसले अपार साथ दिएर नेपाली नाटकहरूको इतिहासमा गौरवपूर्ण उपस्थिति र आफ्ना धारणाहरू दिइरहनुभएको छ, यो महान् छ । यसका लागि सबैमा सिङ्गो “दमिनी भीर” नाटक टिमको तर्फबाट हार्दिक आभार व्यक्त गर्छौं, गरिरहन्छौँ ।
तर, यस्तो पनि लाग्छ- पिँधमा परेका, पारिएका मानिसहरूले सदियौँदेखि गरिरहेको पहिचानको खोजी र तिनका कथा-व्यथा सुन्ने तागत आज हामी जो आफूलाई “उच्च वर्ग र जात” ठान्नेहरूसित छ र ? के राजनीतिक नेतृत्वले ठिक यतिबेला यो प्रश्न थेग्ने हैसियत राख्छ ? उत्तर सिधा छ- छैन, राख्दैन ।
हामी भन्छौँ- “आजसम्म जसरी अपार मायाले साथ दिइरहनुभएको छ, यो साथले हामीलाई अपार ऊर्जा थपिरहेको छ । सही उत्तर मिलिरहेको छ कि हामी ठिक ठाउँमा, ठिक समयमा ठिक काम गरिरहेका छौँ । तपाईंहरूको साथले यही विश्वास प्राप्त भइरहेको छ । र, यति भन्ने हिम्मत पलाएको छ कि “आफूलाई महान् ठान्ने र अरूलाई कमजोर ठान्ने सोच भनेकै समाजको खास उल्झन हो । यति त्यागे समाज त समयको गतिभन्दा छिटो वेगले अघि बढ्छ ।”