२०७९ फागुन १७ गते प्रदेश नं १ को नाम प्रदेश सभाले ‘कोशी’ राखेपछि सोविरुद्धको आन्दोलन अहिले पनि जारी छ ।

कोशी नाम खारेज गरी सभ्यता र इतिहासको आधारमा अर्थात् पहिचानको आधारमा राख्नुपर्ने मागसहित किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, सुनुवार सेवा समाजलगायत आदिवासीजन्य संस्थाका साथै पहिचान पक्षधर दलहरुको अग्रसरतामा आन्दोलन जारी राखिएको हो ।

यही क्रममा शनिबार (कात्तिक १८) नेपाल आदिवासी जनजाति महासंघका साथै नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, नेवा देय दबु, थारु कल्याणकारिणी सभा, तमु ह्युल छोज धि र नेपाल शेर्पा संघले पनि औपचारिक रुपमा आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

इटहरीमा आयोजित ‘संयुक्त ऐक्यबद्धता सभा’मा ती संस्थाका प्रतिनिधिहरुले नस्लवादी शासकहरुले प्रदेशकाे नाम कोशी राखेको भन्दै सोको विरुद्धको आन्दोलनमा अब आफूहरुको पनि सहभागिता हुने घोषणा गरेका छन् ।

संयुक्त ऐक्यबद्धता सभाकाे अध्यक्षता नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले गरेका थिए भने कार्यक्रमकाे सञ्चालन नेपाल मगर संघका उपाध्यक्ष गंगा थापा मगरले गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर, नेवा देय दबुका उपाध्यक्ष उमेश स्थापित, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खाका उपाध्यक्ष तिलक याम्फु राई, तमु ह्युल छोज धिका उपाध्यक्ष धनमान गुरुङ, सुनुवार सेवा समाजका अमृत सुनुवार, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा लगायतले सम्बोधन गरे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here