जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको गलत नीतिका कारण संसारकै सम्भावनायुक्त भौगोलिक विविधता भएको देश नेपाल अल्पविकसित देशहरुको सूचीमा गएको बताएका छन् ।
मंगलबार राजविराजमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस परिसरमा निर्माण गरिएको इन्जिनियरिङ कलेजको भवन उद्घाटन गर्दै उनले यो कुरा बताएका हुन् ।
वर्षेनी करिब डेढ खर्ब रुपैयाँ शिक्षा आर्जनको नाममा विदेश गइरहेको बताउँदै उनले भने, ‘नेपालको शिक्षा तहस–नहस भएको छ । विकसित देशको सूचीमा पुर्याउन शिक्षा, कृषि, उद्योग र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन जरुरी छ ।’
दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानले फड्को मारेको र छोटो समयमै सिंगापुर बदलिएको प्रसंग निकाल्दै अध्यक्ष यादवले चालिस वर्ष अघि अविकसित रहेको देश चीनले आफूलाई हाल संसारकै विकसित देशको रुपमा उभ्याएको बताए ।
उदारीकरण र निजीकरणका कारण औद्योगिक क्षेत्र वर्वाद हुँदै गएकोले शिक्षा क्षेत्रमा समेत व्यापक सुधारको आवश्यकता रहेको उनले बताए ।
राजविराजमा नर्सिङ कलेज, इन्जिनियरिङ कलेज र गजेन्द्रनारायण सिंह अस्पतालमा ४२० बेडको अत्याधुनिक पुर्वाधार समेत तयार भइसकेको बताउँदै अध्यक्ष यादवले भने, ‘अब नर्सिङ कलेज, इन्जिनियरिङ कलेजमा पठन-पाठनको प्रक्रिया अगाडि बढाउनुपर्छ । रामराजाप्रसाद सिंह स्वास्थ्य प्रतिष्ठान निर्माणको समेत चाँडै अगाडि बढ्छ । अधुरा कामहरु पूरा गर्न हामी प्रतिबद्ध छौं ।’
जसपा नेतृ रेणुकुमारी यादवले सीके राउत नेतृत्वकाे जनमत पार्टीतर्फ इंगित गर्दै योगदानको कदर गर्न तथा सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरिन् ।
सप्तरीमा धेरै कामहरु गर्न बाँकी रहेकोले ती काम पूरा गरेर जस लिन आग्रह गर्दै उनले भनिन्, ‘मन्त्री माननीयले आफ्नो ओहदा त बुझ्नुपर्यो । राजविराजमा कन्या छात्रावासको काम पूरा गराएर जस लिन डा.साबलाई आग्रह छ । २०८४ मा १० लाख रोजगारी लगायतका झुठा आश्वासनको हिसाब जनताले लिनेछन् ।’
जसपा प्रवक्ता तथा प्रदेश सांसद मनिषकुमार सुमनले उपेन्द्र यादवको आगमनले सप्तरीमा विकासको मूल फुटेको बताए ।
उनले भने, ‘खुद्रा काममा माननीय उपेन्द्र यादवले बजेट लगाउनुभएन । अब यहाँका विद्यार्थीले डाक्टर, इन्जिनियर बन्न पाउनेछन् । विदेश तथा देशकै ठुला सहर धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’
जनमत पार्टीले गैरराजनीतिक क्रियाकलाप गरिरहेको भन्दै उनले धैर्यताको बाँध तोड्ने अवस्था आउन नदिन जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे ।