‘डढेलो निभाउन वन कार्यालय र स्थानीय साथीहरु कोही आएनन्’

वनमा डढेलो लागिरहेको थियो । तर त्यो आगोले मलाई जलाइरहेको थियो । प्रकृतिलाई माया गर्ने म उजाड पाखामा विरुवा भरेर धर्तीभरि स्वर्ग सजाउँछु भन्दै कुदिहिँड्ने म ! मेरो आँखै अगाडि रुखहरु जलिरहेको देख्दा मेरो आफ्नै शरीर दनदनी जलिरहेको महसुस भयो ।

त्यो वनसँगसँगै जनतालाई पानी खुवाउन भनी जोडिएको खानेपानीको नाला जलिरहँदा मेरो मुटु जलिरहे झैं लाग्यो । दुई दिन दुई रात वनको डढेलो नियन्त्रणमा एकै मिनेस पनि नबिसाइ दिनभरि अनि रातभरि खटिनु र घोटिनुमा मेरो अरु केही पनि स्वार्थ थिएन सिवास म आफूले आफैलाई बचाउनुको ।

मेरो शरीरसँगै मेरो मुटु त्यसरी ह्वार्ह्वार्ती जलिरहँदा म निदाउन सक्ने कुरै भएन । केही कठिन कार्य गर्न सक्ने क्षमता भएका साथीहरुले मलाई साथ दिए । उनीहरुलाई कति निद्रा थकान प्यास त लाग्यो होला मैले सोच्न सकिनँ । सोचेर पनि के गर्नु त ! जलेको हात र रापिएको अनुहार अनि काँडाले घोचिएको खुट्टा लिएर ठिकै छ खास दुःख छैन भन्ने ती साथीहरु महान् छन् ।

बिना पानी तातो घाममा हावाले आगोको लप्का आफूतिर हुत्याएर ल्याउँदा धुवाँले निस्सासिएको त्यो पल जन्मभूमिलाई सम्झेर कति आनन्दको ! ओठ सुकेर पसिना पनि निस्कन छोड्ने स्थिति हुँदाको त्यो पल जन्मभूमिलाई सम्झेर आनन्दको ।

व्यक्तिसँग रिस होला तर पानीको नालाको केही दोष छैन, त्यसलाई छोड्दिनू । जनतालाई पानी खुवाएको देख्न नसक्ने मेरो विरोधीहरुलाई मेरो भन्नु यति मात्रै छ कि जनताको सेवा गर्दा खुट्टा नत्तान्नू, विरोध नगर्नू, जालसाज नगर्नू ।

यसरी वन दनदनी बलिरहेको देखीदेखी पनि सम्बन्धित निकाय वन कार्यालय, सामुदायिक समितिहरु साथै स्थानीयहरु समेत कोही नआउँदा त मलाई लाग्यो यो देश मलाई मात्रै चाहिएको रैछ ! हो नै पनि किनकि मलाई बचाउन को नै पो आउँछ र यहाँ यो त मेरो शरीर जलिरहेको किस्सा न थियो मेरो आफ्नो मुटु जलिरहेको किस्सा न थियो यो !

बधाइ छ त्यसलाई जसले मलाई असफल बनाउन यी सब गरिरहेको छ ! बधाइ छ तिम्लाई मलाई जलाउन सकेकोमा, हार्दिक बधाई तर यति कुरा बुझ तिम्लाई इतिहासले अनि तिम्रो अन्तरआत्मैले सधै धिक्कार्ने छ ।

(हर्क साम्पाङकाे फेसबुकबाट ।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्