नेपाल राज्य निर्माण गर्ने प्रमुख शक्ति किरात हाेः प्रा.डा. टंक न्याैपाने

साल्पा–सिलिचुङको मुन्दुमी मिथक पुस्तकमा

किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको छ ।

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको ‘साल्पा सिलिचुङ–सिलिछो’ नामक मुन्दुमी मिथक र इतिहासको पुस्तक हालै सार्वजनिक गरिएकाे हाे ।

पुस्तकको चर्चा गर्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. जनक राईले किरात राई समुदायकाे आम मानिसले मुन्दमी ज्ञानलाई कसरी प्रयोग गरिरहेका छन् भन्ने पुस्तकमा उल्लेख गरिएको बताए ।

“साल्पा सिलिचुङको मुन्दुमी मिथकलाई अध्ययन गर्दा जतिखेर किरातका पुर्खाहरु साल्पा सिलिचुङ पुगेका थिए, त्यतिखेर मातृसत्तात्मक समाज भएको प्रस्ट हुन्छ,” उनले भने ।

प्रा.डा. सोमनाथ खतिवडाले विश्वका धेरै विश्वविद्यालयले मौखिक इतिहास पढाउने गरेको बताए ।

उनले नेपालमा मात्र लेख्य इतिहास पढाउने गरेको तर किरात सभ्यता र संस्कृतिसँग धेरै ठुलो मौखिक इतिहास भएको बताए ।

उनले त्यस्ता मौखिक इतिहासलाई लिपिबद्ध गर्ने काममा यो पुस्तक कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

किरात संस्कृतिका अध्येता प्रा.डा. टंक न्यौपानेले कुनै एउटा मात्र जाति र व्यक्तिको देश नहुने बताए । विविध जाति समुदाय रहेको नेपालमा किरात धर्म संस्कृतिका अनेकौँ मुन्दुम लेखिनुपर्ने उनको जोड थियो ।

“यस पुस्तकले मिथकहरुको माध्यमबाट किरात राईहरुको एकताको सन्देश दिन खोजेको छ”, उनले भने, “अहिलेको नेपाल राज्य निर्माण गर्ने प्रमुख शक्ति किरात हो । त्यसैले साल्पा र सिलिचुङको मिथक पनि जनइतिहास भएकामा कुनै विवाद छैन ।”

आदिवासी जनजाति महासंघका उपाध्यक्ष दिवस राईले किरात राई समुदायमा खुवालुङ, तुवाचुङ र सिलिचुङ सभ्यताको प्रतीक रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले मुन्दुमी मिथकलाई पुस्तकका माध्यमबाट प्रकाशन गरिनु प्राज्ञिक काम भएको भन्दै प्रशंसा गरे ।

“जसको लेख्य इतिहास हुँदैन, त्यसको मिथक मात्र बाँकी रहन्छ”, उनले भने, “कुनै कालखण्डमा राज्यले किनाराकृत गरेको समुदायको मिथक मात्र बाँकी रहन्छ । त्यसैले यो पुस्तक एउटा लिखित र प्राज्ञिक आक्रोश पनि हो ।”

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन राईले यसपटक साल्पा सिलिचुङमा सुम्निमा पारुहाङ र नछुङ/नाक्सो (धामी)को प्रतिमा स्थापनासँगै मिथक खण्डको पुस्तक प्रकाशन गरिएको बताए ।

अर्को खण्डमा मुन्दुम सङ्कलनसँगै थप इतिहास संरक्षणको काम गरिने उनले बताए ।

२२७ पृष्ठको पुस्तकमा मिथक र विश्लेषण गरी दुईवटा खण्ड छ ।

२१ वटा मिथक संकलित छन् । पुस्तकको सम्पादन भोगिराज चाम्लिङ, डा. तारामणि राई, चन्द्रकुमार हतुवाली र शालिकराम राईले गरेका छन् ।

साल्पा सिलिचुङ साल्पा सिलिछो गाउँपालिका भोजपुरमा पर्दछ । यो स्थान भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु र खोटाङको सीमासँग जोडिएको छ ।

साल्पा पोखरी समुन्द्री सतहदेखि ३ हजार सात सय ५० मिटर उचाइमा छ भने सिलिचुङ ४ हजार एक सय ५५ मिटर अग्लो शिखर हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्