धरान उपमहानगरपालिका–२० चिन्डेडाँडामा सुम्निमा–पारुहाङको प्रतिमा निर्माण गर्ने उद्देश्यअनुसार धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित उक्त पार्टीका कार्यकर्ता तथा समर्थकहरूको टोली मंगलबार (मंसिर २ गते) बिहान साल्पा–सिलिचुङतर्फ प्रस्थान गरेका छन्।

खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने साल्पा पोखरी र सिलिचुङ डाँडामा पुगेर पानी, माटो र ढुंगा ल्याई मंसिर ९ गते चिन्डेडाँडामा सुम्निमा–पारुहाङको प्रतिमा निर्माणको सिलान्यास गर्ने योजना रहेको छ।

सोही योजना अनुसार मेयर साम्पाङसहितको टोली तीनवटा गाडी लिएर त्यसतर्फ लागेको छ।

मिना सिङ्गकका अनुसार मंसिर ३ गते उक्त टोली धरान आइपुग्नेछ।

सुम्निमा–पारुहाङ प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्र राईका अनुसार साल्पा पोखरी र सिलिचुङमा किराती धामीहरूले पूजा गरेर बल मागी त्यही स्थानको ढुंगा, माटो र पानी ल्याइने र त्यसैको आधारमा चिन्डेडाँडामा सुम्निमा–पारुहाङको प्रतिमा निर्माणको सिलान्यास गरिने छ।

देशमा श्रम संस्कृतिको पुनरुत्थान गरेर लोकप्रिय बनेका मेयर साम्पाङले धरानमा सुम्निमा–पारुहाङको विशाल प्रतिमा निर्माण गर्नका लागि देश–विदेशबाट आर्थिक सहयोग अभियान चलाएका थिए।

किरातीहरूको आस्थाको केन्द्र मानिने सुम्निमा–पारुहाङको प्रतिमा निर्माणका लागि देश–विदेशबाट आर्थिक संकलन भइरहेको छ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here