सबै नेपालीलाई पेन्सन योजनामा समेट्ने नागरिक लगानी कोषको तयारी

नागरिक लगानी कोषले सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेटने भएकाे छ ।

बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले देशभरका नागकिरलाई नागरिक पेन्सन याेजनामा समेट्ने गरी काम अघि बढाइएकाे बताए ।

उक्त योजना अन्तर्गत चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको उनले बताए ।

‘हालसम्म सहभागी संख्या ६ हजार एक सय १० पुगेको छ । आर्थिक वर्ष ०८०/८१ को बजेटमा नागरिक लगानी कोषमार्फत् स्वरोजगरामा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्था अनुसार कोषले देशभरका सबै नागरिकलाई समेटने गरी कार्य सुरु गरेको छ,’ कार्यकारी निर्देशक कार्कीले भने, ‘यस योजनामा आय आर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था छ ।’

यो योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् ।

बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा रकम जम्मा गर्न सकिने विशेषता योजनाको रहेको नागरिक लगानी कोषले बताएको छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठ्ठी वर्ष पुरा भएको र कम्तिमा १५ वर्ष योगदान गरेको हुनुपर्ने छ ।

बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन् ।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १ सय ७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था कार्यविधिमा रहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्