नेपाल आदिवासी जनजाति महासंघले ‘आदिवासी शिक्षा अध्ययन’ गर्ने विद्यार्थीलाई रिसर्चका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
काठमाडौँ विश्वविद्यालयले गत शैक्षिक वर्षदेखि आदिवासी जनजाति र विकास विषयमा एकवर्षे स्नातकोत्तरको अध्यापन सुरुआत गरेको छ ।
यस विषयको अध्ययन र अध्यापनले प्रत्येक वर्ष आदिवासी जनजातिको क्षेत्रमा योगदान दिन सक्ने उल्लेख्य अनुसन्धानकर्ता र अध्येताहरू उत्पादन हुने विश्वास लिइएको छ ।
सोही सन्दर्भमा महासंघले आदिवासी शिक्षा र विकास विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रमका क्रममा आदिवासी जनजाति अध्ययन गर्ने विद्यार्थीहरूका लागि छात्रबृत्ति प्रदान गरिने नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए ।
आदिवासी विषयमा काठमाडौँ विश्वविद्यालयले सुरुआत गरेको अध्ययन अध्यापनले आदिवासीका विषयमा आदिवासी समुदाय तथा गैर आदिवासी अध्ययेताहरूले अध्ययन गर्ने अवस्थाको सिर्जना हुने उहाकोको भनाइ छ ।
खासगरी रिसर्चका लागि र इन्टर्नशिपका लागि छात्रवृत्ति दिने तयारी गरिएको महासंघका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलले जानकारी दिए ।
‘काठमाडौँ विश्वविद्यालयमा आदिवासी जनजाति विषयमा अध्ययन सुरु भएको छ । जो निकै राम्रो विषय हो’, उनले भने, ‘त्यसमा नेफिनले रिसर्च र इन्टर्नशिपका निम्ति सहयोग गर्छ । कसरी दिने भनेर नियम बनाएर अगाडि बढाइने छ ।’
काठमाडौँ विश्वविद्यालयले गत वर्षदेखि आदिवासी जनजाति विषयमा एक वर्षे स्नातकोत्तर अध्ययन सुरु गरेको हाे ।
कोलोम्बिया विश्वविद्यालय र नेफिनको सहकार्य रहेको उक्त अध्ययनमा एक वर्षमा २५ जनाले अध्ययन गर्दै आएका छन् ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापकहरू डा. इन्द्रमणि याम्फू, डा. लिना गुरुङ, डा. सुरेश गौतम, डा. प्रकाशचन्द्र भट्टराई, किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम याक्तेनलगायतले आदिवासी शिक्षाले आदिवासीको ज्ञानलाई फैलाउन मद्दत गर्ने बताएका थिए ।